°
, June 1, 2023 in

हाजार्ड र रिउसमाथि अल नासरको नजर

SHARE:

कीर्तिमानी रकममा पोर्चुगिज सुपर स्टारलाई क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको साउदी अरेबियन क्लब अल नासरले अन्य स्टार खेलाडीहरुमा पनि नजर लगाएको छ। अल नासरले रोनाल्डोलाई वार्षिक १७५ मिलियन पाउण्ड पाउने गरी अनुबन्धन गरेको थियो।

रोनाल्डो क्लबमा भित्र्याएसँगै अल नासारले रियल मड्रिडका बेल्जियन स्टार इडेन हाजार्ड र बोरुसिया टर्डमन्डका जर्मन स्ट्राइकर मार्को रिउसलाई भित्र्याउन खोजिरहेको छ। हाजार्ड र रिउस दुवैलाई समरमा भित्र्याउने योजना अल नासरको छ।

रियलमा फिक्का देखिएका हाजार्ड क्लब छोड्न चाहिरहेका छन्। हाजार्डलाई अल नासर भित्र्याउन प्रशिक्षक रुडी गार्सिलोनले कुरा थालेको बताइएको छ। हाजार्ड र गार्सियाले फ्रेन्च क्लब लिलेमा सँगै ४ वर्ष बिताएका छन्।

सन् २०१९मा रियल आएयता फर्म गुमाएका हाजार्डले रियलमा ७३ खेल मात्र खेलेका छन्, र सात गोल मात्र गर्न सकेका छन्। कतार विश्वकपमा खराब प्रदर्शन गर्दै बेल्जियम समूह चरणबाटै बाहिरिएपछि हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट पनि सन्न्यास लिइसकेका छन्।

यता, ३३ जर्मन स्ट्राइकर रिउसलाई समरमा फ्रि ट्रान्सफरमा अनुबन्धन गर्ने योजना भएको छ। डर्टमन्डसँग रिउसको सम्झौता समरमा सकिँदैछ। डर्टमन्डसँग रिउसले अहिलेसम्म सम्झौता नवीकरण गरेका छैनन्। रिउस सन् २०१२मा डर्टमन्ड आएका थिए।

यस्तै, नासरले रोनाल्डोकै पूर्वटिममेट सर्जियो रामोस र लुका माड्रिचलाई पनि भित्र्याउन चाहिरहेको छ। रामोस अहिले फ्रेन्च क्लब पिएसजीमा छन् भने मोड्रिच रियलमै छन्। क्लबसँग रामोस र लुका मोड्रिच दुवैको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदै छ।

रामोसलाई भित्र्याउन स्पेनिस क्लब सेभियाले पनि चाहिरहेको छ भने मोड्रिच रियलमै करिअरको अन्त्य गर्ने योजनामा छन्।

SHARE: