गत हप्ताबाट इंग्लिस प्रिमियर लिग (इपिएल) सुरु भएको छ। पहिलो गेमविकका सबै खेलमा स्पष्ट नतिजासहित स्पष्ट जितहारका नतिजा निस्किए। केही नतिजा अनपेक्षित थिए भने अधिकांश खेलमा अपेक्षाअनुरुपकै नतिजा आएका थिए।
दोस्रो गेमविकका पनि केही खेल भएका छन्। यसैक्रममा आज (आइतबार) लण्डनका दुई पावरहाउस टिम, आर्सनल र चेल्सी, भिड्दैछन्। लण्डन डर्बीमा युरोपको च्याम्पियन चेल्सीले पछिल्लो समय लय गुमाउँदै गएको आर्सनलसँग उसकै घरमा खेल्दैछ।
चेल्सी र आर्सनलले गत हप्ता फरक नोटमा यस सिजनको सुरुवात गरेका थिए। चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध ३–० को जित निकाल्दा आर्सनल भने नवप्रवेशी ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको थियो।
७४ वर्षपछि प्रिमियर लिगमा फर्किएको ब्रेन्टफोर्डविरुद्धको अप्रत्यासित हारपछि आर्सनल र आर्सनलका म्यानेजर मिकेल आर्टेटा लण्डन डर्बीमा निकै दबाब महसुस गरिरहेका छन्। चेल्सी भने पहिलो खेलको जित र फर्ममा रहेका स्ट्राइकर रोमेलु लुकाकुलाई टिममा अनुबन्ध गर्दै उच्च मनोबलका साथ इमिरेट्समा उत्रिँदैछ।
‘आर्सनल भर्सेस चेल्सी’ इपिएलका ब्लकबस्टर फिक्स्चरमध्येमा पर्दछन्। वेलायतको एउटै शहरका दुई पावरहाउस क्लबबीचको यो भिडन्तले सबैको ध्यान खिचेको छ। यो फिक्स्चरले विगतमा धेरै हाइस्कोरिङ खेलहरु पनि दिइसकेको छ।
लण्डन डर्बीमा सबैभन्दा बढी गोल गर्ने खेलाडीमा भने चेल्सीका डिडिएर ड्रोग्बा अगाडी छन्। उनले १५ डर्बी खेलमा १३ गोल गरेका छन्। आइभोरी कोस्टका खेलाडी ड्रोग्बाले दुई अध्यायमा चेल्सीबाट खेल्नेक्रममा सो गोल संख्या पुराएका हुन्।
यस्तै, दोस्रो स्थानमा भने आर्सनलका लेजेन्ड तथा सर्वाधिक गोलकर्ता थिएरी हेनरी छन्। १९९७ देखि २००७ सम्म आर्सनलबाट खेलेका हेनरीले २० डर्बी खेलमा १० गोल गरेका छन्।
लण्डन डर्बीका सर्वाधिक पाँच गोलकर्ताहरुको सूची हेर्नुहोस्ः
क्र.सं. | खेलाडी | क्लब | गाेल | खेल |
---|---|---|---|---|
१ | डिडिएर ड्रोग्बा | चेल्सी | १३ | १५ |
२. | थिएरी हेनरी | आर्सनल | १० | २० |
३. | इयान राइट | आर्सनल | ९ | १६ |
४. | इडेन हजार्ड | चेल्सी | ७ | १९ |
५. | थियो वाल्कट | आर्सनल | ६ | २५ |