बिग बास लिगमा ‘मेलबर्न डर्बी’ आज, सन्दीप पनि परे स्टार्सको टिममा

अस्ट्रेलियामा जारी बिग बास लिगमा शनिबार मेलबर्नका दुई क्लब स्टार्स र रेनिगेट्स भिड्दै छन् । ‘मेलबर्न डर्बी’का रुपमा परिचित यो खेल मेलबर्न क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः५५ मा सुरु हुने छ ।

सामान्य घाइते भएकाले सिड्नी थन्डरविरुद्धको खेल गुमाएका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले पुनः मेलबर्न स्टार्सको टिममा स्थान बनाएका छन् । मेलबर्न स्टार्सले डर्बीका लागि सन्दीपलाई समेट्दै १३ सदस्यी टिमको घोषणा गरेको छ । यता, सन्दीप टिममा पर्दा उत्कृष्ट प्रदर्शन गरिरहेका पाकिस्तानी बलर ह्यारिस रउफ भने टिममा परेनन् । उनले ३ खेमला १० विकेट लिएका छन् ।

सन्दीपले विग बासमा उत्कृष्ट प्रदर्शन गर्दै ४ खेलमा ३ विकेट लिएका छन् । उनले ४ खेलमा १२ ओभर बलिङ गर्दै ८४ रन खर्चेरका छन् । सन्दीपले पहिलो खेलमा ब्रिस्बन हेटविरुद्ध ३८ रन खर्चेर १ विकेट लिएका थिए भने त्यसपछि २ खेलमा होबर्ट हुरिकेन्सविरुद्ध १९ रन खर्चेर १ र एडिलड स्ट्राइकर्स्विरुद्ध १५ रन खर्चेर १ विकेट लिएका थिए । चौथो खेलमा भने सन्दीप विकेट विहनी बनेका थिए । होबर्टविरुद्ध सन्दीपले २ ओभरमा ११ रन मात्र खर्चिएका थिए ।

मेबलर्न डर्बीमा जित हात पार्दै स्टार्स शीर्ष स्थानमा अग्रता फराकिलो बनाउने दाउमा छ । यता, रेनिगेट्स भने पहिलो जितको खोजीमा हुने छ । स्टार्स ५ खेलमा ४ जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा रहँदा रेनिगेट्स भने ५ खेल नै हार्दै तालिकाको पुछारमा छ ।

मेलबर्नले पहिलो ब्रिस्बन हेटलाई २२ रनले हराउँदा होबर्टलाई ५२ रनले पराजित गरेको थियो । तेस्रो खेलमा एडिलेड स्ट्राइकर्ससँग भने मेलबर्न ५ रनले पराजित भएको थियो भने चौथो खेलमा ब्रिस्बन हेटलाई ४ रनले हराएको थियो भने पाचौं खेलमा सिड्नी थन्डरलाई ३ विकेटले हराएको थियो ।

उत्कृष्ट प्रदर्शन गरिरहे पनि स्टार्सका लागि शनिबारको खेल त्यति सहज भने हुने छैन । डर्बी भिडन्तलाई प्रतिष्ठाका रुपमा हेरिने हुँदा यो खेल निकै रोमाञ्चक हुने छ । मेलबर्न डर्बीका पछिल्लो ५ भीडन्तमा ३ मा स्टार्स विजयी हुँदा २ खेल रेनिगेट्सले जितेको छ ।

स्टार्समा सन्दीपका अलावा ग्लेन म्याक्सवेल, एडम जम्पा, डेल स्टन, मार्कस स्टोइनिस, निक माडिन्सन, बेन डंक, पिटर ह्यान्ड्सकोम्बलगायत खेलाडी छन् भने रेनिगेट्समा आरोन फिन्च, केन रिचड्र्सन, सन मार्स, साम हार्पर, ड्यानिअल क्रिस्टियन लगायत खेलाडी छन् ।