‘गुरिल्ला म्याराथन’मा रुकुमका हिमाल बुढा विजयी

तेस्रो गुरिल्ला अल्ट्रा म्याराथनको रुकुमका हिमाल बुढा मगरले जितेका छन् । मंगलबार भएको म्याराथनमा अरु १ सय ७ जनालाई पछि पार्दै बुढा पहिलो भएका हुन् । ५२ किलोमिटर म्याराथन उनले ५ घण्टा ५३ मिनेट २६ सेकेण्डमा पूरा गरेका थिए ।

६ घण्टा १९ मिनेट ३९ सेकेण्डमा दुरी पार गरेका भूमे गाउँपालिका–६, का करमा बुढा मगर दोस्रो भए भने रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३, का अर्जुन बस्नेत तेस्रो भए । बस्नेतले निर्धारित दुरी ६ घण्टा, २२ मिनेट ४३ सेकेण्डमा पूरा गरेका थिए । सोही ठाउँका भुवन ओली सान्त्वना भए ।

महिलातर्फ प्युठानकी हुमी बुढा मगर प्रथम, भूमे गाउँपालिका–४, की रुजिना बुढा मगर द्वितीय र ३ नम्बर वडा दोमैकी निर्मला पुन तृतीय भइन् । हुमीले ८ घण्टा ३२ मिनेट ४७ सेकेण्ड, रुजिनाले ८ घण्टा ३७ मिनेट सेकेण्डमा ५२ किलोमिटर दुरी पार गर्दा निर्मलाले ८ घण्टा ४० मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन् ।

भूमे युवा विकास केन्द्रले आयोजना गरेको प्रतियोगिताका विजेता महिला पुरुष दुवै तर्फका प्रथमले ७५, दोस्रोले, ५० तेस्रोले ३० र सान्त्वनाले १५ हजार नगद प्राप्त गरे ।

खेल क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनका लागि गुरिल्ला म्याराथन आयोजना गरेको भूमे युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोका मगरले बताएका छन् ।

Facebook Comments Box