पेरुमाथि फराकिलो जित निकाल्दै आयोजक ब्राजिल ४६औं संस्करणको कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह एको अन्तिम खेलमा पेरुलाई ५–० को फराकिलो अन्तर पराजित गर्दै ब्राजिल अन्तिम ८ मा प्रवेश गरेको हो ।
समूह एमा अपराजित रहेको ब्राजिल २ र १ बराबरीसहित ७ अंकका साथ समूहको शीर्ष रह्यो । ५ अंक जोडेको भनेजुएला पनि दोस्रो स्थानमा रहँदै अन्तिम ८मा प्रवेश गरेको छ । ४ अंक जोडेको पेरुको तेस्रो स्थानमा छ । उसको पनि उत्कृष्ट तेस्रो हुँदै अन्तिम ८ पुग्ने सम्भावना प्रवल छ ।
अघिल्लो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेपछि आलोचित बनेको ब्राजिलले पेरुविरुद्ध भने उत्कृष्ट प्रदर्शन गर्यो । उसका लागि कासिमिरो, रोबर्टो पिर्मिन्हो, ड्यानी अल्भेस, विलियन र एभर्टनले गोल गरे ।
१२औं मिनेटमा कासिमिरोको गोलमा अग्रता लिएको ब्राजिलले १९औं मिनेटमै फिर्मिन्होले गोल गरेपछि अग्रता दोब्बर बनायो । एभर्टनले ३२ औं मिनेटमा गोल गरेपछि घरमै उपाधि जित्ने लक्ष्य बनाएको ब्राजिलले पहिलो हाफमै ३–०को अग्रता बनायो ।
पहिलो हाफमा ३–० को अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा थप २ गोल ग¥यो । कप्तान ड्यानी अल्भेसले ५३औं र ९०औं मिनेटमा विलियनले गोल गरेपछि खेल ब्राजिलले ५–० ले आफ्नो पक्षमा पार्यो । इन्जुरी समयमा ग्याब्रियल जेसुस पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
खेलमा ब्राजिलले ६९ प्रतिशत बल पोजेशन बनाएको थियो । उसले १८ सट प्रहार गरेकोमा ९ सट फ्रेममा थियो । यता, पेरुले भने ८ सट प्रहार गरेकोमा २ सट मात्र टार्गेटमा थियो । खेलमा ब्राजिलले ६१० पास खेलेको थियो भने पेरुले २७७ पास खेलेको थियो । ब्राजिलको पास एकुरेन्सी ९१ प्रतिशत थियो भने पेरुको ८० प्रतिशत थियो ।
अब ब्राजिलले क्वार्टरफाइलनमा समूह बी वा सीको उत्कृष्ट तेस्रोसँग खेल्ने छ भने समूहको दोस्रो बनेको भेनेजुएलाले समूह बीको उपविजेतासँग खेल्ने छ । समूह बीको उपविजेता पाराग्वे, कतार र अर्जेन्टिनामध्ये एक हुने छ ।