नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्काले सहि समयमा आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको बताएका छन्।
पारसले अब व्यवस्थापकीय पक्षमा योगदान दिने योजना रहेको पनि प्रष्ट पारे। उनले यसअघि प्यासनका रूपमा क्रिकेट खेलिरहेको बताउँदै अब भने करिअरका रूपमा सुरु गर्ने पनि बताए।
‘मैले कप्तानी छाड्ने समयमै खेल छोड्ने वा नखेल्ने सोच आएको थियो। मैले १० वर्ष कप्तानी गर्दा ज्ञानेन्द्र मल्ल उपकप्तान थिए। ज्ञानेन्द्र र टोलीलाई साथ दिनुपर्छ भनेर त्यतिबेला छाडिनँ। लगभग दुई वर्षको समय सकिँदा मैले धेरै पटक सोचेर अब क्रिकेट खेल्दिन भन्ने निर्णय लिएँ’, पारसले भने।
‘क्रिकेटले नै मलाई सबथोक दिएको छ। सबै कुरा पाएको छु। यति हुँदाहुँदै पनि सन्न्यासको लागि यो सहि समय हो भनेर निर्णय लिएँ। ओडिआई मान्यता अब दुई वर्ष बाँकी छ, टिममा युवा खेलाडी छन्। यो दुई वर्ष क्रिकेट विकास गरेर लैजान राम्रो समय हो। अब मेरो भूमिका फरक तरिकाले हुनेछ।’
‘म क्रिकेटबाट टाढिएको होइन, टाढिने पनि छैन। खाली मेरो भूमिका बदलिने छ। यो निर्णय मैले धेरै पटक सोचेर लिएको हो,’ पारसले भने।
‘परिवार, साथीभाइको साथ र सहयोग बिना त म यहाँ आउने पनि थिएन। तर क्रिकेटको निर्णय भने मैले सधैं आफै सोचेर लिएँ। अरु सबै कुरा साथीभाइ र परिवारले भनेको मानुँला तर क्रिकेटमा म आफ्नै हिसाबले सोचेर निर्णय लिन्छु’, पारसले भने।
‘मेरो सोच जहिले पनि क्रिकेटमा कसरी प्रभाव पार्न सकिन्छ भन्ने हो। मैले क्रिकेटरको रुपमा पार्न सक्ने प्रभाव वा भनौं दिन सक्ने योगदान यति नै थियो। मैले धेरैपटक भनेको छु अन्तर्राष्ट्रिय क्रिकेट छाडेपछि आगामी दिनमा व्यवस्थापनमा आउने मन छ। मैले गर्दा मात्र नेपाली क्रिकेट यहाँ आइपुगेको होइन। मलगायत धेरै खेलाडीको मिहिनेतले यहाँ सम्म आइपुगेको हो,’ पारसले भने।
कुनै विदाई खेल बिनानै छाड्ने पहिला देखिकै योजना रहेको पनि पारसले बताए। ‘मेरो उमेर ३३ होला तर नेपाली क्रिकेटमा म जसरी लागि रहेको छु, मानसिक रुपमा ५० पुगिसकें,’ पारसले भने।
पारस अहिलेका युवा खेलाडीमा धेरै प्रतिभा क्षमता भएको बताउँछन्। टेस्ट मान्यता प्राप्त गर्न धेरै नै सुधार आवश्यक रहेको पनि उनले बताए। क्रिकेट व्यवस्थापनमा आउन आफूमात्र नभएर एउटा राम्रो टिम चाहिने पारस बताउँछन्।
‘खेलमा हार्यो भने के हुन्छ भन्ने डर हुन्थ्यो। एक खेलाडीको रुपमा सबै सम्मान पाएको छु। अबका दिनमा धेरै अवसर छन्। राम्रो खेलाडी भयो भन्दैमा राम्रो व्यवस्थापक हुन्छ भन्ने पनि हुँदैन। मेरो सोच र लक्ष्य चारैतिर नेपाली क्रिकेट फैलियोस् र प्रतियोगिताहरु हुन् भन्ने हो,’ उनले पत्रकार सम्मेलनमा भने।
पारसले नेपालले पहिलो ओडीआई जीत हात पारेको दिनको अवसरमा सन्न्यास लिएको पनि खुलाएका छन्। नेपालले २०१८ अगस्ट ३ मा पहिलो ओडिआई जित हात पारेको थियो भने पारसले २०२१ अगस्ट ३ मा सन्न्यास घोषणा गरेका हुन्। पारसले आफूले आगामी दिनमा घरेलु क्रिकेटमा भने खेल्ने इच्छा रहेको बताएका छन्।
पारसको अबको सोच क्रिकेट एकेडेमी सञ्चालन गर्ने छ । ‘एक दुई महिनापछि क्रिकेट एकेडेमी सुरु गर्नेछु । त्यसलाई नेपालभर पुर्याउने योजना छ,’ पारसले भने।
सन् २००४ मा मलेसियाविरुद्ध नेपाली सिनियर टिममा डेब्यू गरेका पारसले मंगलबार सन्न्यास लिएका हुन्। पारसले २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टिमको कप्तानी गरेका थिए। पारसको कप्तानीमा नेपालले ऐतिहासिक टि२० विश्वकप सहभागिता, ओडिआई मान्यताका साथै ओडिआई र टि२० आई सिरिज, डिभिजन फाइभ देखि थ्री सम्मको उपाधि जितेको थियो।
समग्रमा, नेपाली क्रिकेटले आजसम्म जति पनि उपलब्धि र सफलता हात पारेको छ, पारस खड्का त्यसको सबैभन्दा महत्वपूर्ण हिस्सा हुन्। उनको सन्न्याससँगै नेपाली क्रिकेटको सुनौलो युगको अन्त्य भएको छ। पारसबिनाको नेपाली क्रिकेटले नयाँ शिराबाट आफ्नो यात्रा थाल्नेछ।