सन् २०२२ मा अस्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकपको एसिया छनोट आजबाट सिंगापुरमा सुरु भएको छ । २८ जुलाईसम्म चल्ने प्रतियोगितामा सिंगापुर, नेपाल, कतार, मलेसिया र कुवेत सहभागी छन् ।
नेपाल, सिंगापुर र मलेसिया एसियाको पूर्वी क्षेत्रीय छनोटबाट आएका हुन् भने कतार र कुवेत पश्चिम क्षेत्रीय छनोटबाट आएका हुन् । पश्चिम क्षेत्रबाट युएई पनि छनोट भएको थियो । तर, उसले ग्लोबल छनोट आयोजनाको जिम्मा पाएकाले उसले सिधै ग्लोबल छनोट खेल्ने छ ।
राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम टि–२० विश्वकपको ग्लोबल छनोटका लागि छानिने छ । ग्लोबल छनोटमा १३ टिम सहभागी हुने छन् । १४ टिम सहभागी हुने तय भएपछि आईसिसीले टेस्ट मान्यताप्राप्त जिम्बाबेलाई निलम्बन गरेपछि १३ टिम मात्र सहभागी हुन लागेका हुन् ।
युएईमा ११ अक्टोबर देखि ३ नेभेम्बरसम्म हुने प्रतियोगितमा युएई, आयरल्यान्ड, नेदरल्यान्ड, स्कटल्यान्ड, ओमान, हङकङ, पपुवा न्युगिनी, केन्या, नामिबिया र जर्सीका साथै एसियाबाट १ र अमेरिकाजबाट १ टिमको सहभागीता रहने छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष ६ टिम अस्ट्रेलियामा हुने टि–२० विश्वकका लागि छानिनेछन् ।
ग्लोबल छनोटबाट छाएिका ६ टिमले श्रीलंका र बंगलादेशसँगै विश्वकपको पहिलो राउन्ड खेल्ने छन् । पहिलो राउन्डमा ८ टिमलाई २ समूहमा विभाजन गरिने छ । दुवै समूहका शीर्ष २–२ टिम सुपर १२ का लागि छानिने छन् ।
आईसिसीको टि–२० ¥याङकिङमा शीर्ष ८ मा रहेका टिमले सिधै सुपर १२ मा स्थान बनाएका छन् । सिधै सुपर १२ मा पुगेका ८ र पहिलो राउन्डबाट आएका ४ टिमलाई सुपर १२ मा २ समूहमा विभाजन गरिने छन् ।
समूह एमा पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड र वेस्टइन्डि तथा पहिलो राउन्डको समूह एको विजेता र समूह बीको उपविजेता रहनेछन् । यसैगरी समूह बीमा भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अफागानिस्तान तथा पहिलो राउन्डको समूह एको उविजेता र समूह बीको विजेता रहने छन् । दुवै समूहका शीर्ष २–२ टिम सेमिफाइलनमा पुग्ने छन् ।
उद्घाटन खेलमा सिंगापुर ३३ रनले विजयी
आजबाट सुरु भएको टि–२० विश्वकपको एसिया छनोटमा पहिलो दिन दुई खेल भए । पहिलो खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको छ भने मलेसिया र कुवेतबीचको दोस्रो खेल जारी छ ।
इन्डियन एसोसिएट् मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्र्दै सिंगापुरले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रनको ठूलो स्कोर बनायो । १८७ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन मात्र बनाउन सक्यो ।
पहिला ब्याटिङ गरेको सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रन बनाए भने टिम डेभिडले ३८, मनप्रित सिंहले ३४ र रोहन रंगराजनले ३२ रनको योगदान दिए । कतारका इक्वाल हुसैनले सर्वाधिक ४ विकेट लिए भने नौमन सर्वारले २ विकेट लिए ।
१८७ रनको लक्ष्य पछ्याएको कतारका लागि तमुर सज्जादले सर्वाधिक ३४ रन बनाए भने मोहम्मद रिजलनले ३३, सैफल जाभेदले २९ र मुहम्मद तनवीरले २६ रन बनाए । बलिङमा सिंगापुरका जनक प्रकाश र अम्जद महबुबले समान ३ विकेट लिए ।