इन्टरनेशनल फेडेरेशन अफ फुटबल हिस्ट्री एण्ड इस्टाटिस्टिक (आईएफएफएचएस)ले सन् २०२२ को टिम अफ दी इयर सार्वजनिक गरेको छ। आईएफएफएचएसले बुधबार सार्वजनिक गरेको टिम अफ दी इयरमा विश्वकप विजेता लियोनल मेसीदेखि बालोन डे’ओर विजेता करिम बेन्जिमासम्म छन्।
आईएफएफएचएस टिम आफ दी इयरको गोलकिपरमा रियल मड्रिडका बेल्जियन गोलकिपर थिवाउट कोर्टुवा छन्। विश्वकपमा उनको टिम समूह चरणबाटै बाहिरिए पनि रियललाई ला लिग र च्याम्पियन्स लिग उपाधि दिलाउने उनको भूमिका महत्वपूर्ण थियो।
यस्तै, डिफेन्सको नेतृत्व डच कप्तान भिर्गिन भान डाइकले गरेका छन्। उनीसँगै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका क्रोएसियस डिफेन्डर जस्को ग्वार्डिओल, मोरक्को तथा पिएसजीका अर्चरफ आकिमी र क्यानडा तथा बार्यन म्युनिखका अल्फन्सो डेविस छन्।
मिडफिल्डको नेतृत्व अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीले गर्ने छन्। उनको नेतृत्वको मिडफिल्डमा म्यान्चेस्टर सिटी तथा बेल्जियमका केभिन डे ब्रुयन र रियल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिच छन्।
स्ट्राइकिङमा बालोन डे’ओर विजेता करिम बेन्जिमासँगै फ्रान्स तथा पिएसजीका किलियन एम्बाप्पे र नर्वे तथा म्यान्चेस्टर सिटीका इर्लिङ हालान्ड छन्। बेन्जिमाले चोटका कारण विश्वकप गुमाए पनि रियलका लागि भने करिअरकै उच्च प्रदर्शन गरेका छन्।
यता, एम्बाप्पेले क्लब र देशका लागि उस्तै प्रदर्शन गरेका छन्। उनै प्रेरणादयी प्रदर्शनमा फ्रान्सको विश्वपको उपविजेता बनेको थियो । फाइनलमा उनले अर्जेन्टिनाविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेपछि उनको टिम पेनाल्टी सुटआउटमा पराजित भएको थियो।
यता, समरमा मात्र सिटी आएका हालान्डले प्रिमियर लिगमा आफूलाई गोल मेसिनका रुपमा स्थापिन गरेका छन्। लिग आधा नसकिँदै हालान्डले २१ गोल गरिसकेका छन्।