भारतले दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमाञ्चक जित निकालेको छ।
जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्यो। लक्ष्य थोरै भए पनि खेल निकै रोमाञ्चक बनेको थियो।
भारतको जितमा सूर्यकुमार यादवले सर्वाधिक २६ रन बनाए। ३१ बलमा १ चौकासहित उनी अविजित रहे। यस्तै हार्दिक पान्ड्या २० बलमा १ चौकासहित १५ रनमा अविजित रहे।
यस्तै, ईशान किशनले १९ रन बनाउँदा शुभमन गिलले ११ रन बनाए। राहुल त्रिपाठीले १३ रन बनाउँदा वासिन्टन सुन्दरले १० रन जोडे । न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेलले र ईश सोधी समान १ विकेट लिए।
लखनऊमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो।
न्युजिल्यान्डका कप्तान मिचेल सान्टनारले सर्वाधिक १९ रन बनाएर नटआउट रहे। यस्तै मार्क च्यापम्यान र माइकल ब्रेसवेलले समान १४–१४ रन बनाउँदा फिन आलेन र डेभोन कन्वेले समान ११(११ रन बनाएर आउट भए। अन्य कुनै पनि न्युजिल्यान्डका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका अर्शदीप सिंहले २ विकेट लिँदा कुलदीप यादव, युजभेन्द्र चहल, दीपक हुडा, वासिन्टन सुन्दर र हार्दिक पान्ड्याले समान १(१ विकेट लिए।
यसअघि पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो। अब तेस्रो तथा अन्तिम खेल बुधबार अहमदाबादमा हुनेछ।