विराट कोहली र सुभमन गिलले शानदार शतक प्रहार गरेपछि एकदिवसीय सिरिजको तेस्रो खेलमा भारतले श्रीलंकामाथि ३१७ रनको कीर्तिमानी जित निकालेको हो।
यो एकदिवसीय क्रिकेटका सबैभन्दा फराकिलो जित हो । यसअघि सन् २००८मा न्युजिल्यान्डले आयरल्यान्डमाथि २९०को जित निकालेको थियो।
पहिला ब्याटिङ गर्दै भारतले दिएको ३९१ रनको लक्ष्य पछ्याएको श्रीलंका ७३ रनमै अलआउट भयो। श्रीलंकाका नुवानिदु फर्नान्डोले १९, कसुन राजिथाले नटआउट १३ र दसुन सनकाले ११ रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा मोहम्मद सिराजले घातक बलिङ गरे। उनले १० ओभरमा ३२ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, मोहम्मद सामी र कुलदिप यादवले समान २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले विराट कोहलीको नटआउट १६६ र शुभम गिलको ११६ रनको मद्दतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन जोडेको थियो ।
कोहलीको यो एकदिवसीय क्रिकेटको ४६औं शतक हो । अब उनी सचिन तेन्दुलकरको कीर्तिमान भन्दा ३ शतकमात्र पछि छन्। गिलको यो दोस्रो एकदिवसीय शतक हो।
यो जितसँगै भारतले तीन खेलको सिसिज क्लिनस्वीप गरेको छ ।