विश्वकप २०१९ को २२औं खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । राजनीतिक मतभेद र सशस्त्र द्वन्द्वका कारण क्रिकेटमा भारत र पाकिस्तानबिचको प्रतिस्पर्धालाई केबल खेलको रुपमा मात्र नभएर प्रतिष्ठाको लडाइका रुपमा पनि लिइन्छ । विश्वकपमा भएका पछिल्ला ६ भिडन्त सबैमा विजयी भएको भारतले ७औं खेलमा पनि जित निकाल्दै आफ्नो क्लिन स्विप जारी राखेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारतका लागि ओपनर ब्याट्सम्यान र कप्तान विराट कोहलीले उत्कृष्ट इनिङ खेलेपछी ३३६ रनको उच्चस्कोर खडा गरेको थियो । वर्षाले प्रभावित खेलमा म्यान अफ द म्याच समेत भएका रोहित शर्माले शतक प्रहार गरेका थिए । ११३ बल खेल्दै १४० रन बनाएका रोहितले १४ चौका र ३ छक्का प्रहार गरे ।
अर्का ओपनर केएल राहुलले अर्धशतकिय इनिङ खेल्ने क्रममा ५७ रन जोडेका थिए । ७८ बल खेलेका राहुलले ३ चौका र २ छक्कामात्र प्रहार गर्दै एउटा इन्डबाट इनिङ सम्हालेर रोहितलाई खुल्ने खेल्ने अवसर दिएका थिए । यस्तै, कप्तान कोहलीले पनि अर्धशतक प्रहार गर्ने क्रममा ६५ बलमा ७ चौकाको मद्दतमा ७७ रन जोडे । कोहलीले अर्धशतक बनाउने क्रममा एकदिवसीयमा सर्वाधिक छिटो ११ हजार रन बनाउने विश्व रेकर्ड पनि बनाउन सफल भए ।
त्यस्तै, हार्दिक पाण्ड्याले १९ बलमा २६ रन बनाए भने धोनी २ बलमा १ रन बनाएर आउट भए । विजय शंकर र केदार जाधव क्रमश: १५ बलमा १५ रन तथा ८ बलमा ९ रन बनाएर नटआउट रहे । पाकिस्तानका लागि मोहम्मद आमिरले ३ विकेट लिए भने हसन अलि र वाहब रियाजले १-१ विकेट लिएका थिए ।
३३७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा मैदानमा आएको पाकिस्तानले विकेट जोगाउने क्रममा यथेष्ट रन जोड्न नसकेपछि पराजित हुन पुग्यो । १८ बलमा ७ रन बनाउँदा ओपनर इमाम उल हकलाई गुमाएको पाकिस्तानको इनिङ फखर जमान र बाबर आजमले सम्हालेका थिए । फखरले ७५ बलमा ६२ रन बनाए भने बाबर ५७ रनमा ४८ रन बनाएर पभेलियन फर्किएका थिए ।
मोहम्मद हाफिजले ७ बलमा ९ रन बनाए भने कप्तान सरफराज अहमदले ३० बलमा १२ रनमात्र जोड्न सके । यस्तै शोएब मलिक पहिलो बलमै बोल्ड हुन पुगे । धराशायी भएको पाकिस्तानी इनिङ सम्हाल्ने क्रममा इमाद वासिम र शादब खानले क्रमश: ३९ बलमा ४६ रन तथा १४ बलमा २० रन जोडेर नटआउट रहे ।
पाकिस्तान ४०औं ओभरमा ब्याटिङ गर्दैगर्दा पानी पर्न थालेपछि अन्तिमका १० ओभरको खेल हुन सकेन । अन्तत: डकवर्थ लुइस नियम अनुसार पाकिस्तान ८९ रनले पराजित भयो । विशाल लक्ष्यका कारण रन बनाउनभन्दा विकेट जोगाउनतिर लागेका कारण पाकिस्तान डकवर्थ लुइस नियममा पछाडि परेको थियो ।
भारतलाई सहज जित दिलाउन विजय शंकर, हार्दिक पाण्ड्या र कुलदीप यादवले समान २-२ विकेट लिएका थिए । कुलदीपले मैदनमा सेट भइसकेका फखर जमान र बाबर आजमलाई आउट गर्दै पाकिस्तानको इनिङ धराशायी बनाएका थिए । एकै ओभरका दुई लगातार बलमा मोहम्मद हाफिज र शोएब मलिकलाई आउट गर्दै पाण्ड्याले भारतलाई जिततर्फ अग्रसर गराएका थिए ।