भारतविरुद्धको तीन खेलको टि–२० सिरिजको दोस्रो खेलमा श्रीलंका विजयी भएको छ। बिहीबार राति पुनेमा भएको खेलमा श्रीलंकाले भारतमाथि १६ रनको जित निकाल्यो ।
यो जितसँगै सिरिज १–१को बराबरीमा आएको छ। पहिलो टि–२० भारतले २ रनले जितेको थियो।
पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएकको २०७ रनको विशाल लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९० रन बनायो। उसका लागि अक्षर पटेलले सर्वाधिक ६५ रन बनाए । विस्फोटक ब्याटिङ गरेका उनले ३१ बलमा ३ चौका र ६ छक्का प्रहार गरे।
यस्तै सूर्यकुमार यादवले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन बनाए। यस्तै, शिवम मावीले १५ बलमा २ चौका र २ छक्कासहित २६ रनको योगदान दिए पनि टिमलाई जित दलाउन सकेनन्। श्रीलंकाका दासुन शानका, कसुन रजिथा र दिलशान मदुशनकाले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो। उसका लागि कप्तान दासुन शानकाले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २२ बलमा २ चौका र ६ छक्कासहित ५६ रनमा अविजित रहे।
यस्तै ओपनर कुशल मेन्डिसले ३१ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाउँदा अर्का ओपनर पाथुम निसांकाले ३५ बलमा ३३ रन जोडे। चरिथ असलंकाले ३७ रनको योगदान दिए।
भारतका लागि उमरान मलिकले ३ विकेट लिँदा अक्षर पटेलले २ तथा युजभेन्द्र चहलले एक विकेट हात पारे।
यी दुई बीचको तेस्रो तथा निर्णायक टि–२० खेल भोलि शनिबार राजकोटमा हुनेछ।