न्युजिल्यान्ड भ्रमणमा रहेको भारतले ५ खेलको एकदिवसीय सिरिज एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको छ ।
तेस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै भारतले सिरिजमा ३–० को अग्रता लिएको हो । बाँकी दुई खेल गुमाए पनि भारतले सिरिज जित्ने छ ।
न्युजिल्यान्डविरुद्धको पहिलो खेल भारतले ८ विकेटले जितेको थियो भने दोस्रो खेल ९० रनले जितेको थियो । न्युजिल्यान्ड भ्रमण अघि भारतले अस्ट्रेलियामा एकदिवसीय र टेस्ट सिरिज जितेको थियो ।
पहिलो ब्याटिङ गर्दै न्युजिल्यान्डले दिएको २४४ रनको लक्ष्य भारतले ४३.५ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । भारतलाई जित दिलाउन रोहित शर्मा र कप्तान विराट कोहीले उत्कृष्ट ब्याटिङ गरे ।
रोहितले ७७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दैै ६२ रन बनाए भने कोहलीले ७४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ६० रन बनाए । यस्तै अम्बाति रायाडुले ४०, दिनेश कात्र्तिकले ३८ र शिखर धवनले २८ रनको योगदान दिए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिए भने मिचेल सान्टनरले १ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ४३ ओभरमा अलआउट हुँदै २ सय ४३ रन मात्र बनाउन सक्यो । उसका लागि रोस टेलरले सर्वाधिक ९३ रन बनाए । १०६ बल खेलेका उनले ९ चौका प्रहार गरेको थिए । यस्तै टम लाथमले ५१, कप्तान केन विलियम्सनले २८ रन बनाए ।
भारतका लागि महोम्मद सामीले ३ तथा भुनेश्वर कुमार, युजभेन्द्र चहल र हार्दिक पाण्ड्याले २–२ विकेट लिए । भारत र न्युजिल्यान्डबीचको चौथो खेल ३१ जनवरीमा हुने छ ।