नेपालविरुद्ध मैत्रीपूर्ण खेल खेल्नका लागि भारतीय फुटबल टिम सोमबार काठमाडौं आइपुगेको छ। नेपाल र भारतले भदौ १७ र २०मा दुईवटा मैत्रीपूर्ण खेल खेल्दैछन्।
भारतीय फुटबल संघले बिहीबार सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय टिम घोषणा गरेको थियो। नेपालको २५ सदस्यीय टिमपनि पोखरामा बन्द प्रशिक्षण सकेर भारतविरुद्ध उत्रिन तयार भई काठमाडौं आइसकेको छ।
नेपालल र भारतले ६ वर्षपछि दशरथ रंगशालामा खेल्न लागेका हुन्। पछिल्लोपटक सन् २०१५ मा भएको विश्वकप छनोटअन्तर्गतको दोस्रो लेगको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। पहिलो लेगको खेल भने भारतमै भएको थियो। भारतलाई उसकै घरमा नेपालले २–० ले पराजित गरेको थियो।
नेपाल र भारतले साफ च्याम्पियनसिपको तयारीका रुपमा दुई मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाल अन्तिम चरणको बन्द प्रशिक्षणका लागि कतार जाने तयारीमा छ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ गतेदेखि १६ दिन चल्नेछ। नेपालले उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ।
नेपालसँग खेल्ने भारतको २५ सदस्यीय टिमः
गोलकिपरः अमरिन्दर सिंह, धिरज सिंह मोइराङथेम, गुरप्रित सिंह सन्धु
डिफेन्डरः प्रितम कोटल, चिङलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज
मिडफिल्डरः लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, ज्याक्सन सिंह, प्रणय हाल्दर
फरवार्डः मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री, फारुख चौधरी