इनेस्टा भन्छन्– मेसीलाई अरु क्लबको जर्सीमा देख्दा निकै पीडा हुन्छ

स्पेनिस क्लब बार्सिलानाका पूर्व मिडफिल्डर आन्द्रेस इनेस्टाले क्लबका लिजेन्ड लियोनल मेसीलाई अरु क्लबको जर्सीमा देख्दा आफुलाई निकै पीडा हुने बताएका छन्। लामो समय सँगै बिताएका मेसीले बुधबार मात्र फ्रेन्च क्लब पिएजसीसँग सम्झौता गरेपछि इनेस्टाले मेसीलाई अरु क्लबको जर्सीमा देख्नु आफ्ना लागि दुःखदायी क्षण भएको बताएका छन्।

मेसी र इनेस्टाले १४ वर्ष बार्सिलोनमा सँगै खेलेका थिए । मेसी र इनेस्टा मिल्ने साथी र एक अर्काका प्रिय खेलाडी पनि हुन्।

ला लिगाको वित्तिय नियमका कारण बार्सिलोनासँग सम्झौता नवीकरण हुन सकेपछि मेसीले बुधबार मात्र पिएसजीसँग २ वर्षको सम्झौता गरेका थिए। मेसीले पिएसजीसँग सम्झौता गरेपछि एएफपीसँग कुरा गर्दै इनेस्टाले मेसीलाई बार्सा बाहेक अर्को क्लबको जर्सीमा हेर्न निकै गाह्रो हुने बताए।

मेसीले बार्सा छोड्दा अचम्म लाग्यो कि लागेन भन्ने जिज्ञासामा इनेस्टाले ‘अचम्म’ शब्दले आफ्नो भावना बयान गर्न नसक्ने बताएका थिए।

‘लियोले यति धेरै वर्ष बार्साको प्रतिनिधित्व गरेका छन्, त्यसैले ‘अचम्म’ भन्ने शब्दले मलाई महसुस भएको कुरा पूर्णत बयान गर्न सक्दैन। तर, कहिलेकाहिँ परिस्थितिले धेरै कुरा निर्धारण गरिदिन्छ। मलाई आन्तरिक कुराहरु थाहा छैनन्,’ जापानिज भिसेल कोवेबाट व्यसायिक फुटबल खेलिरहेका इनेस्टाले भने, ‘तर यो परिस्थिति यस्तो भयो कि सबैजनाले यसको सामना गर्नुको विकल्प छैन।’

इनेस्टाले भनेका छन्, ‘खेलाडीका रुपमा उनले हरेक उचाई पार गरिसकेका छन्। मैले उनीजस्तो खेलाडी कोही देखेको छैन । र, मलाई लाग्दैन कि म फेरि कहिल्यै देख्नेछु। उनले केके गरेका छन् त्यो हेर्नुहोस् र कति लामो समयदेखि निरन्तर गर्दै आएका छन्।’