इन्टरले टुंग्यायो नापोलीको अपराजित यात्रा

इटालियन सिरि एमा नापोलीको अपराजित यात्रामा पूर्णविराम लागेको छ। नापोलीको अपराजित यात्रा टुंग्याउने काम इन्टर मिलानले गरेको छ। सिरि एअन्तर्गत आइतबा राति भएको खेलमा इन्टरले नापोलीमाथि ३–२को जित निकाल्यो।

घरेलु मैदानमा इन्टरलाई जिताउन हाकन चाल्हानोलु, इभान पेरिसिक र लाउटारो मार्टिनेजले गोल गरे । नापोलीका लागि पिटर जेलिन्स्की र ड्राइस मर्टेन्सले गोल गरे ।

खेलको १७औं मिनेटमा जेलिन्स्कीको गोलबाट नापोलीले अग्रता बनाएको थियो । तर २५औं मिनेटमा हाकनले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । पेरिसिकले ४४औं मिनेटमा गोल गरेपछि इन्टरले पहिलो हाफमै अग्रता लियो । मार्टिनेजले ६१औं मिनेटमा गोल गरेपछि इन्टरले ३(१ को अग्रता बनायो ।

७९औं मिनेटमा मर्टेन्सले गोल गर्दै नापोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछि थप गोल गर्न नसक्दा सिजनको पहिलो हार बेहोर्‍यो ।

हारपछि पनि १३ खेलबाट ३२ अंक रहेको नापोली गोल अन्तरमा एसी मिलानलाई पछि पार्दै शीर्ष स्थानमा छ । अघिल्लो दिन मिलान फियोरेन्टिनासँग पराजित भएको थियो । इन्टर भने १३ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा छ ।