इटालियन सिरि ए शनिबारबाट सुरु भएको छ। सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इन्टर मिलान र जेनोआ भिडेका थिए। इन्टर जेनोआविरुद्ध शानदार जित निकाल्न सफल भएको छ।
घरेलु मैदानमा भएको खेलमा इन्टरले ४–० को शानदार जित निकाल्दै यो सिजनका लागि पनि आफ्नो दाबेदारी प्रस्तुत गरेको छ। इन्टरले खेलको छैठौं मिनेटमै पहिलो अग्रता लिएको थियो। मिलान स्क्रिनिअरले गोल गर्दै डिफेन्डिङ च्याम्पियनलाई अग्रता दिलाएका हुन्।
यो पनि पढ्नुहोस्ः इटालियन सिरि ‘ए’: खुंखार प्रशिक्षकहरुको निर्मम परीक्षा
अग्रता दोब्बर बनाउन पनि इन्टरले लामो समय कुर्नु परेन। यसै सिजन एसी मिलानबाट इन्टर आएका हाकन काल्हनोग्लुले डेब्यु खेलको १४औं मिनेटमा गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाएका थिए। आर्टुरो भिडालले ७४औं मिनेटमा गोल गर्दै अग्रता फराकिलो बनाए भने एडिन जेकोले ८७औं मिनेटमा गोल गर्दै इन्टरको जित अझै फराकिलो बनाएका थिए।
खेलमा एकपक्षीय दबाब कायम गर्न सफल इन्टरले ६० प्रतिशत बल पोजेसन राख्दा १६ सट प्रहार गरेको थियो। जसमध्ये ८ सट टार्गेटमा गएका थिए। ४० प्रतिशत पोजेसनमा सिमित भएको जेनोआले प्रहार गरेका १० सटमध्ये ४ वटा मात्र टार्गेटमा थिए।