आईपीएलमा लो स्कोरिङ थ्रीलर म्याचमा पुछारको दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरात टाइटन्समाथि ५ रनको रोमाञ्चकक जित निकालेको छ। नरेन्द्र मोदी स्टेडियममा भएको लो स्कोरिङ थ्रीलर खेलमा दिल्लीले १३० रनको लक्ष्य डिफेन्ड गर्दै सिजनको तेस्रो जित निकालेको हो।
दिल्लीले दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरातले कप्तान हार्किद पाण्ड्याले अर्धशतक प्रहार गरेपनि लक्ष्य भेट्न सकेन। गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो। कप्तान हार्किद पाण्ड्याले ५३ बल खेल्दै ७ चौका प्रहार गरी अविजित ५९ रन बनाए। अभिनव मनोहरले ३३ बलमा २६ रन बनाउँदा राहुल तेवाटियाले ७ बलमा ३ छक्का सहित २० रन जोडे।
गजुरातलाई जितबाट रोक्न दिल्लीका खलिल अहमद र इशान्त शर्माले समान २ तथा एनरिक नोर्किअ र कुलदिप यादवले समान १ विकेट लिए।
त्यसअघि गुजरातको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो। गुजरातका मोहम्मद शामीले दिल्लीको टप अर्डर ध्वस्त पारेपछि २३–५ को खराब अवस्थामा पुगेको दिल्लीको इनिङ्स सातौं नम्बरमा ब्याटिङ गरेका अमन हाकिम खानले अर्धशतक प्रहार गरेपछि उकासिएको थियो ।
अमनले ४४ बल खेल्दै ३ चौका ३ छक्का प्रहार गरी ५१ रन बनाए । उनले अक्षर पटेलसँग ५० रनको साझेदारी गरे । अक्षरले २७ रन जोडे । रिपाल पटेलले १३ बलमा २३ रन बनाए । प्रियम गर्गले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
गुजरातका शामीले ४ ओभरमा ११ रन मात्र खर्चेर ४ विकेट लिए । मोहित शर्माले २ तथा रासिद खानले १ विकेट लिए ।
९ खेल खेल्दा दिल्लीको यस सिजन यो तेस्रो जित हो भने लिग लिडर गुजरातको तेस्रो हार हो । हारपछि पनि ९ खेलबाट १२ अंकसहित गुजरात शीर्ष स्थानमै छ । कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरवाद समान ६ अंक भएपनि दिल्ली रनरेटका आधारमा पुछारमै छ ।