°
, June 4, 2023 in

आईपिएलमा लखनउ र पञ्जाबकाे जित

SHARE:

इंग्लिस फास्टबल मार्क उडले घातक बलिङले गरेपछि इन्डियन प्रियिमर लिग (आईपिएल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ। उड चम्किएको खेलमा शनिबार राति लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले हरायो।

पहिला ब्याटिङ गर्दै लखनउले दिएको १९४ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान डेविड वार्नरले अर्धशतक बनाए। उनले वार्नरले ४८ बलमा ७ चौका प्रहार गर्दै ५६ रन बनाए ।

यस्तै, राइली रुसोले ३०, अक्षर पटेलले १६ र पृथ्वी शले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लखनउलाई सस्तैमा समेट्ने क्रममा उडले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । यस्तै, आभेष खान र रवि बिस्नोइले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो। उसका ओपनर कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए।

यस्तै, निकोलस पुरनले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाउँदा आयुष बदोनीले ७ बलमा १८ र दिपक हुडाले १७ रनको योगदान दिए।

दिल्लीका लागि खालिल अहमद र चेतन साकरियाले समान २ विकेट लिए।

शनिबार भएको पहिलो खेलमा पञ्जाब किंग्स विजयी भएको छ। वर्षा प्रभावित खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सलाई डिएलएस मेथर्डमा ७ रनले हरायो।

१९२ रनको लक्ष्य पछ्याएको कोलाकाताले १६ ओभरमा ७ विकेटको क्षतिमा १४६ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । उसका लागि आन्द्र रसेलले १९ बलमा ३५ रन बनाउँदा अंकुल रोय ३४ र कप्तान नितिश रानाले २४ रन बनाए।

पञ्जाबका आर्शदीप सिंहले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा १९१ रन बनायो । उसका भानुका राजापाक्ष ३२ बलमा ५ चौका २ छक्का प्रहार गर्दै ५० रन बनाउँदा कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाए।

यस्तै, साम करणले १७ बलमा २६ रन बनाउँदा प्रभसिमरन सिंह १२ बलमा २३ र जितेश शर्माले ११ बलमा २१ रनको योगदान दिए। कोलकाताका टिम साउदी २ तथा उमेश यादव, सुनिल नारिन र वरुण चक्रवर्तीले समान १ विकेट लिए।

आईपिएलअन्तर्गत आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा घरेलु मैदानमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सको समाना गर्ने छ भने दोस्रो रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सबीच हुनेछ।

SHARE: