°
, June 7, 2023 in

बलर चम्किँदा लो स्कोरिङ म्याचमा गुजरात विजयी

SHARE:

मोहित शर्माले अन्तिम ओभरमा सानदार बलिङ गर्दै २ विकेट लिएपछि साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा शनिबार लखनउ सुपर जायन्ट्समाथि रोमाञ्चक जित पारेको छ ।

लखनउलाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेका बेला गुजरातले ४ विकेट लिँदै जम्मा ४ रन मात्र दिएपछि गुजरात ७ रनले विजयी भएको हो । अन्तिम ओभरमा मोहितले २ विकेट लिए भने २ रनआउट गरेको थियो ।

लो स्कोरिङ खेलमा गुजरातले दिएको १३६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाए पनि जिताउन सकेनन् । ६१ बल खेल्दै ८ चौका प्रहार गरेका उनी अन्तिम ओभरको दोस्रो बलमा आउट भए । कायल मायर्सले २४ र क्रुनाल पाण्ड्याले २३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गुजरातका लागि बलिङमा मोहित शर्मा र नुर अहमदले २(२ तथा रासिद खानले १ विकेट लिए।

लखनउको घरेलु मैदान एकना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो।

गुजरातका कप्तान हार्दिक पाण्ड्याले ५० बल खेल्दै २ चौका र ४ छक्का मदतमा सर्वाधिक ६६ रन बनाए । यस्तै ओपनर ऋद्दिमन शाहले ३७ बलमा ४७ रन जोडे । विजय शंकरले १० रन बनाए।

बलिङमा लखनउका क्रुनल पाण्ड्या र मराकुस स्टोइनिसले २-२ तथा नभिद उल हक र अमित मिश्राले समान १ विकेट लिए ।

चौथो जितपछि ६ खेलबाट ८ अंक जोडेको गुजरात चौथो स्थानमै छ । अन्य तीन टिमसँग समान अंक भएपनि गुजरात रनरेटमा पछि छ । हारेपनि ७ खेलबाट ८ अंक रहेको लखनउ दोस्रो स्थानमै छ । ८ अंक नै रहेको राजस्थान रोएल्स शीर्ष स्थानमा छ भने चेन्नई सुपर किंग्स तेस्रो स्थानमा छ ।

SHARE: