क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपिएल)को १६औं संस्करण आजबाट सुरु हुँदैछ।
डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच खेलसँगै आईपिएलको नयाँ सिजन सुरु हुनेछ। खेल गुजरातको घरेलु मैदान अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियमा बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
गुजरात अलराउण्ड हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्रसिंह धोनीले गर्नेछन् । खेलअघि उद्घाटन समारोहमा गायक अरजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन् ।
२०१९ को संस्करणपछि आईपीएल पहिलो पटक होम एण्ड अवे प्रणालीमा हुनेछ । १० टिम सहभागी लिगमा कूल ७४ खेल हुनेछन् । यस पटक हरेक टिमले लिगमा १४ खेल खेल्नेछन् । जसमध्ये ७ खेल घरेलु मैदानमा र ७ खेल बाहिर गएर खेल्नुपर्नेछ।
१० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । ड्र अनुसार दुई समूहमा कुन–कुन टिम रहने निर्णय गरिनेछ।
समूह ‘ए’ मा मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, कोलकता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स छन् । यस्तै समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स छन् ।
हरेक टिमले आफ्नो समूहमा रहेका चार टिमसँग दुई–दुई पटक गरी कूल ८ खेल खेल्नेछन् । यस्तै अर्को समूहको चार टिमसँग एक–एक पटक गरी चार खेल खेल्नेछन् । यस बाहेक अर्को समूहको एक टिमसँग भने दुई पटक खेल्नेछन्।