नेपालले १ वर्षअघि क्यानडालाई अन्तिम बलमा नाटकीय जित निकाल्दै एकदिवसीय मान्यता पायो । त्यसपछि नेपालले २ एकदिसीय सिरिज र १ टि–२० सिरिज खेल्यो । ३ मध्ये २ वटा सिरिज जितेको नेपालले एक सिरिज बराबरी खेलेको थियो ।
निरन्तर उत्कृष्ट प्रदर्शंन गरिहेको नेपालले आफ्नै मैदानमा भने अहिलेसम्म एकदिवसीय र टि–२० सिरिज खेल्न पाएको छैन । नेपालमा अन्तर्राष्ट्रिय सिरिज गर्न मैदान अभाव छ । भएको एउटा कीर्तिपुरस्थित त्रिवी मैदान पनि पिच मर्मत अभावमा सिरिज खेल्नका लागि योग्य छैन ।
त्रिवि मैदानले मात्रै धानेको नेपाली क्रिकेटको साख जोगाउन अब कहिलेसम्म सो मैदानमा मात्रै भर पर्ने हो ? यसको उत्तर नेपाली क्रिकेटका जिम्मेवार पदाधिकारीसँग छैन ।

हरेक चार वर्षमा पिचको मर्मत अनिवार्य रुपमा गर्नुपर्छ । तर, त्रिवि मैदानको पिच मर्मत नभएको ७ वर्ष बितिसकेको छ ।
एकदिवसीय मान्यता पाएपछि नेपालले पनि घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्न चासो दिइरहेको छ । तर, क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले कीर्तिपुर मैदानको पिच मर्मत हुन नसक्दा सिरिज आयोजना गर्ने अवस्था छैन ।
नेपालमा एकदिवसीय सिरिज गराउन सकिन्छ कि सकिँदैन भनेर अध्ययनका लागि अहिले अन्तर्राष्ट्रिय क्रिट परिषद् (आईसिसी)का प्रतिनिधि एन्डी अटकिन्सन नेपालमा छन् । उनले मंगलबार कीर्तिपुर मैदानको निरीक्षण गरेका थिए भने बुधबार निर्माणाधीन मुलपानी मैदानको निरीक्षण गरेका छन् ।
अटकिन्सनले निरीक्षणपछि नेपालको मैदानको अवस्थाका बारेमा आइसिसीमा प्रतिवेदन बुझाउनेछन् । सोही प्रतिवेदनले नेपालमा सिरिज हुन्छ या हुँदैन टुंगो लगाउने छ ।
त्रिवि मैदानमा सुरक्षाको विषयमा आइसिसीले निकै चासो देखाएको छ । त्यसैले सरकारले सुरक्षाको विषयमा आइसिसीलाई विश्वस्त तुल्याउनु पर्नेछ । भौतिक पूर्वाधार निर्माणमा पनि सरकारले नै काम गर्नु पर्छ । क्यान निलम्बनको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बजेट छुट्याएर काम गरे मात्र मैदानले एकदिवसीय सिरिज खेलाउन पाउने छ ।
यता, नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमटा भने नेपालमै एकदिवसीय सिरिज हुनेका आशावादी छन् । प्रशिक्षक टमटा भन्छन्, ‘अट्किन्सनले आफ्नो प्रतिवेदन आईसिसीमा बुझाएपछित्रिवि मैदानलाई एकदिवसीय खेल खेलाउन योग्य बनाउन गर्नुपर्ने कामबारे आइसिसीले सुझाव दिनेछ, त्यही अनुसार सुधार गर्नसके नेपालले एकदिवसीय सिरिज आयोजना गर्ने बाटो खुल्नेछ ।’

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कीर्तिपुरको मैदान मर्मतका लागि मन्त्रालयले नै ताकेता गर्ने बताएका छन् । उनले एकदिवसीय खेल नेपालमै खेलाउन लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
मन्त्री विशवकर्माले खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै खेलेर भविष्य सुनिश्चित गर्नसक्ने अवस्थामा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले मुलपानी क्रिकेट मैदान साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिने उल्लेख गर्दै आफू मन्त्री हुनुअघिको सबै समस्या समाधान गरेर निर्माण प्रक्रिया सुरु भइसकेको जानकारी समेत गराए ।
यसैगरी पूर्वक्रिकेटर तथा प्रशिक्षक राजु बस्नेतले नेपाली खेलाडीले क्रिकेटलाई उचाइमा पु¥याएको बताउँदै पूर्वाधार नबन्नु दुःखद् भएको बताएका छन् । उनले नेपालभन्दा कम वरियताका मुलुकले नेपालको भन्दा धेरै नै पूर्वाधारको विकास गरेको पनि बताए ।
एकदिवसीय मान्यता प्राप्त गरेको एकवर्ष पूरा हुनै लाग्दा नेपालले अहिलेसम्म दुईवटा मात्र सिरिज खेलेको छ । नेपालले नेदरल्यान्ड्स र युएईविरुद्ध उनीहरुकै भूमिमा सिरिज खेलेको थियो ।
नेपाली क्रिकेटका लागि थप सफलताको सिँढी चढ्न मात्र नभएर अहिले प्राप्त उपलब्धि बचाउन पनि चुनौतीपूर्ण छ । यसका लागि क्यानमाथि आइसिसीको निलम्बन फुकुवा अत्यावश्यक छ ।