युरोकप छनोट : इटालीको सहज जित, रोमानियासँग स्पेनको कठीन जित

सन् २०२० को युरोपकप छनोटमा इटालीले आफ्नो शतप्रतिशत नतिजालाई निरन्तरता दिँदा स्पेनले संघर्षपूर्ण जित निकालेको छ । बिहीबार राति भएको खेलमा इटालीले जितलाई निरन्तरता दिने क्रममा अर्मेनियालाई ३–१ले पराजित गर्दा स्पेनले रोमानियाविरुद्ध २–१को कठीन जित निकाल्यो ।

युरोकप छनोटमा लागतार पाँचौं जित निकाल्ने क्रममा इटालीले बिहिबार राति भएको खेलमा १० खेलाडीमा सीमित अर्मेनियालाई ३–१ले हरायो । घरेलु मैदानमा अर्मेनियाले सुरुवाती अग्रता लिएको थियो । खेलको ११ औं मिनेटमा एलेक्जेन्डर कारापेट्यनले गोल गरेका थिए । तर, खेलको २८ औं मिनेटमा आन्द्रे बेलोट्टीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफकै अन्तिम मिनेटमा एलेक्जेन्डरले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि अर्मेनिया १० खेलाडीमा सीमित भयो । खेलको ७७ औं मिनेटमा लोरेन्जो पेलीग्रिनीले गोल गर्दै इटालीलाई २–१ को अग्रता दिलाए । ८० औं मिनेटमा बेलोट्टीले पुनः गोल गर्दै इटालीको जित सुनिश्चित गरे ।

समूह जेमा रहेको इटाली ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा छ । अर्मेनिया भने ६ अंकका साथ चौथो स्थानमा छ । यो समूहमा १२ अंक जोडेको फिनल्याण्ड दोस्रो र ७ अंक जोडेको बोस्निया एण्ड हजगोभिना तेस्रो स्थानमा छ ।

यसैगरी स्पनेले रोमानियाविरुद्ध २–१ले जित निकाल्यो । रोमानियाको मैदानमा स्पेनलाई जित दिलाउन सर्जियो रामोस र पाको अल्कासरले गोल गरे । रोमानियाका फ्लोरिन इन्डोनले एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ४७ औं मिनेटमा अल्कासरले गोल गर्दै स्पेनलाई २–० अग्रता लियो । खेलको ५९ औं मिनेटमा रोमानियाका फ्लोरिनले गोल गर्दै खेल २–१ मा ल्याए ।

७९ औं मिनेटमा डिएगो लोरेन्टोले रातो कार्ड पाएपछि स्पेन १० खेलाडीमा समेटिएको थियो । युरोकप छनोटको समूह एफमा रहेको स्पेन पनि अराजित छ । स्पेन ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ ।

यसैगरी युरोपक छनोटकै अन्य खेलमा डेनमार्कले जिब्रल्टरलाई ६–०ले पराजित गर्दा स्वीडेनले फोर्स आइसल्यान्डलाई ४–०ले हरायो । यस्तै, फिनल्यान्डले ग्रिसलाई १–०, नर्वेले माल्टालाई २–०, बोस्निाया हर्जगोभिनाले लिस्टेन्सटेइनलाई ५–०ले पराजित गर्दा इजरायल र नर्थ मासेडोनिया, स्वीट्जरल्यानड र आरयल्यान्डले १–१ गोलको बराबरी खेले ।