रोनाल्डो खेल्लान् त कतार विश्वकप ?

अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि युरोपियन छनोटको प्लेअफमा पोर्चुगल र इटाली एउटै समूहमा परेका छन् । यी दुई बलियो टिम एउटै समूहमा परेसँगै ३६ वर्षीय स्टार स्ट्राइकर रोनाल्डोको कतार विश्वकप खेल्ने सम्भावन अन्योलमा परेको छ।

विश्वकपको युरोपियन छनोटमा दुवै टिम आ–आफ्नो सामूहमा दोस्रो भएका थिए । त्यसपछि दुवै टिम प्लेअफमा पुगेका पुगे । प्लेअफमा एउटै समूहमा परेसँगै पोर्चुगल र इटालीमध्ये एक टिमले मात्र विश्वकप खेल्ने छन्। कतार विश्वकप नै रोनाल्डोको अन्तिम विश्वकप हुनेछ । तर, अन्तिम विश्वकपमा उनको टिम छनोट हुने नहुने नै द्विविधा छ।

प्लेअफको समूह सी मा इटालीले पहिलो खेल नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । यस्तै पोर्चुगलले टर्कीसँग खेल्नेछ । दुई खेलको विजेता टिम यस समूहको फाइनलमा खेल्नेछन् र विजेता विश्वकपमा छनोट हुनेछ ।

प्लेअफमा कुल १२ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ए मा स्कटल्याण्ड र युक्रेन तथा वेल्स र अष्ट्रिया बीच पहिलो खेल हुनेछ । विजेताबीच फाइनल खेल हुनेछ ।

यसैगरी समूहमा बी मा रुस र पोल्याण्ड तथा स्वीडेन र चेक रिपब्लिक पहिलो खेलमा खेल्नेछ । विजेता टिमहरु बीच फाइनल खेल हुनेछ ।

सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि युरोपबाट १० टिम छनोट भइसकेका छन् ।

यस्तै विश्वकपका लागि अन्तरमहादेशिय प्लेअफको ड्र पनि सार्वजनिक भएको छ । जहाँ एसियन टिमले दक्षिण अमेरिकी टिमसँग र उत्तर अमेरिकी टिमले ओसियाना टिमसँग खेल्नेछ ।