इटाली भर्सेस स्पेनः हेड टु हेडमा को बलियो?

युरोकप २०२० को पहिलो सेमिफाइनलमा राती १२ः४५ बजे इटाली र स्पेन भिँड्दै छन्। युरोपियन फुटबलका दुई महाशक्ति राष्ट्रहरुको यो भिडन्त निकै रोमाञ्चक हुनेछ।

सन् २०१८ देखि इटालीले एउटा पनि खेल हारेको छैन। लेजेन्ड खेलाडी तथा प्रशिक्षक रोबर्ट मान्सिनीको कमानमा पछिल्ला ३२ खेलमा अपराजित रहेको इटाली युरोकप जित्ने सबैभन्दा बलियो दाबेदार हो।

युरोकप २०२० मा इटालीको प्रदर्शनः
W W W W W

युरोकप २०२० मा स्पेनको प्रदर्शनः
W W W D D

तर, स्पेनविरुद्ध भने इटालीको प्रदर्शन राम्रो छैन। स्पेनविरुद्धका पछिल्ला १४ खेलमा इटाली दुईपटक मात्र विजयी भएको छ। जसमध्ये ७ खेल बराबरीमा सकिएका थिए भने ५ वटा खेलमा स्पेन विजयी भएको थियो।

सन् २०११ मा मैत्रीपूर्ण खेलमा २–१ ले विजयी भएको इटालीले पछिल्लो जित भने युरोकप २०१६ को प्रिक्वार्टरफाइनलमा हात पारेको थियो। जर्जियो किलेनी र ग्रेजियानो पेलेको गोलमा २–० को जित निकाल्दै इटालीले स्पेनलाई अन्तिम १६ बाटै घर फिर्ता पठाएको थियो।

तर, ठूला प्रतियोतिमा (विश्वकप र युरोकप) भने इटालीको प्रदर्शन राम्रो रहेको छ। विश्वकप र युरोकपमा यी दुई देश यसअघि ९ पटक आमनेसामने भएका छन्। यो सेमिफाइनल खेल दुई देशबीचको दशौं भिडन्त हुनेछ। यससँगै स्पेन र इटालीले ठूला प्रतियोगितामा सबैभन्दा बढी आमनेसामने हुने युरोपियन देशका रुपमा कीर्तिमान पनि कायम गर्नेछन्।

यसअघि भएका ९ ठूला खेलमा इटाली ४ पटक विजयी भएको छ भने स्पेनले एउटा खेलमा मात्र जित हात पार्दा ४ खेल बराबरीमा सकिएका छन्। जसमध्ये युरोकप २००८ मा भएको अन्तिम १६ को खेल बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा भने स्पेनले जित हात पारेको थियो।

ठूला प्रतियोगितामा इटाली सेमिफाइनल पुगेको यो १२औं पटक हो। युरोपियन देशहरुमा जर्मनीले मात्र, २० पटक, इटालीभन्दा बढी सेमिफाइनल खेलेको छ। यसअघिका ११ अवसरमध्ये ९ पटक सेमिफाइनल जित्दै फाइनल प्रवेश गर्न सफल भएको छ।

पछिल्लोपटक इटालीले सेमिफाइनल जित्दै फाइनल प्रवेश गरेको २०१२ को युरोकपमा थियो। तर, फाइनलमा स्पेनसँगै ४–० ले पराजित हुँदै इटालीले उपविजेतामा चित्त बुझाउनु परेको थियो।

सेमिफाइनल पुगेका चार टिममध्ये जारी युरोकपमा आफ्ना सबै खेल जित्ने इटाली एकमात्र टिम हो। इटालीले आफ्ना पाँचवटै खेलमा जित हात पारेको छ। यसअघि १९९० को विश्वकपमा मात्र इटालीले एउटा प्रतियोगिताका पाँचभन्दा बढी खेल जित्न सकेको छ। सो विश्वकपमा इटालीले ६ खेल जितेको थियो।

ठूला प्रतियोगितामा आफ्ना सुरुवाती ६ खेल जित्ने एकमात्र अर्को युरोपियन टिम नेदरल्यान्ड्स हो। नेदरल्यान्ड्स २०१० को विश्वकपमा लगातार ६ खेल जित्दै फाइनल पुगेको थियो। तर, त्यो फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्ने टिम स्पेन नै थियो।

एक्स्ट्रा टाइममा आन्द्रे इनिएस्टाको गोलको मद्दतमा नेदरल्यान्ड्सको विजयी यात्रामा पूर्णविराम लगाउँदै स्पेन विश्व च्याम्पियन बनेको थियो। स्पेन इटालीविरुद्धको सेमिफाइनलमा पनि त्यही दाहोर्याउने दाउमा हुनेछ।

स्टार खेलाडीले भरिपूर्ण दुई युरोपियन फुटबल एलिट देशबीचको महाभिडन्तमा कसले बाजी मार्ला त? लण्डनस्थित वेम्बली स्टेडियममा आज राती १२ः४५ बजे त्यसको टुंगो लाग्नेछ।