कोहली भन्छन्, रोहितसँग कुनै समस्या छैन, हल्ला बकवास हुन्

भारतीय क्रिकेट टिम अहिले वेस्टइन्डिज भ्रमणमा छ । वेस्टइन्डिजविरुद्धको टि–२०, एकदिवसीय र टेस्ट सिरिजन खेल्न भारतीय टिम वेस्टइन्डिज भ्रमणमा गएको हो ।

भारतीय क्रिकेट टिमका अहिले एउटा हल्ला व्यापक बनेको छ । कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबीच विवाद उत्पन्न भएको भन्दै त्यस विषयमा विभिन्न क्रिया, प्रतिक्रिया आइरहेका छन् । केही दिन अगाडि कोहली पत्नी अनुष्का शर्मालाई रोहितले ट्विटरमा अनफलो गरेपछि कोहली र रोहितबीच मनमुटाव भएको खबर व्यापक भएको थियो ।

तर, कप्तान विराट कोहली चलिरहेको हल्ला वकवास भएको बताउँदै रोहितसँग आफ्नो सम्बन्ध राम्रो भएको बताएका छन् । कोहलीले वेस्टइन्डिज जानुअघि पत्रकारहरुसँग कुरा गर्दै आफूहरुबीच कुनै विवाद नभएको बताएका हुन् । कोहलीले आफूहरु १० वर्षदेखि सँगै खेलिरहेको र बाहिर जस्तो हल्ला चलिरहेको छ, त्यस्तो केही पनि नभएको बताए ।

रोहितसँगको विवादका बारेमा सोधिएको प्रश्नमा कोहलीले भने, ‘मैले पनि हाम्रा बारेमा धेरै कुराहरु सुनिरहेको छु । सबै कुरा बाहिरबाटै सुनिन्छ । हेर्नुस्, यदि टिममा सबै कुरा राम्रो हुँदैनथ्यो, ड्रेसिङ रुमका वातारवण राम्रो हुँदैनथ्यो भने हामीले कसरी यो सफलता हात पाथ्र्यौं । विश्व क्रिकेको नम्बर १ बन्नका लागि आपसी समझदारी आवश्यक छ । आपसी समझदारी विना केही हुँनै सक्दैन । यो हावादारी हल्ला हो ।’

विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएसँगै भारतीय टिमको वानडे र टि–२० को कप्तानी रोहित शर्मालाई दिने तयारी भइरहेको थियो । त्यसपछि नै कोहली र रोहितबीच मनमुनाव सुरु भएको खबर सार्वजनिक भएको थियो ।

‘मलाई कोहीसँग समस्या छ भने सबैकुरा मेरो अनुहारमै देखिन्छ । रोहित र मबीच सबैकुरा ठीक छ । यस्तो खबर कहाँबाट आइरहेको छ मलाई केही थाहा छैन । यसमा कसलाई फाइदा छ ?’ पत्रकारहरुसँग कुरा गर्दै कोहलीले अगाडि भने, ‘ ड्रेसिङ रुमको माहोल यहाँबाट तपाईंहरुलाई बताउन सक्दिनँ, तपाईं आर्फैं आएर हेर्न सक्नुहुन्छ खेलाडी कसरी बस्छन् । नयाँ खेलाडी हुन् या सिनियर खेलाडी महेन्द्रसिंह धोनी सबैलाई एउटै व्यवहार गर्छौं ।’

यसैगरी प्रशिक्षक रवि शास्त्रीले पनि कोहली र रोहितबीच सम्बन्ध राम्रो रहेको र बाहिर चलेको हल्ला निराधार भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘जब मैले भारतीय टिमको जिम्मा लिएकको थिएँ, त्यतिबेला ७औं नम्बरमा थियौं, अहिले हामी १, २ नम्बरमा छौं । यदि हाम्रा खेलाडी बीच समस्या थियो भने हामीले यो सफलता हात पार्न सक्दैनथ्यौं । खेलाडीहरु ड्रेसिङ रुममा रमाइलो गर्छन्, त्यसमा म पनि सहभागी हुन्छु । अहिले जस्तो खबर आइरहेको छ त्यस्तै केही पनि होइन । यो सब बकवास र मिडियाको बनावटी समाचार हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *