ज्याक ग्रिलिस भन्छन्- मैले पेनाल्टी हान्न चाहेको थिएँ

वेम्बलीमा आइतबार राति भएको फाइनलमा तीन खेलाडी पेनाल्टीमा चुकेपछि इंग्ल्यान्ड पहिलो युरोकप उपाधि जित्नबाट वञ्चित भयो। इंग्ल्यान्ड र इटालीबीचको फाइनलको निर्धारित समय र एक्स्ट्रा समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

इंग्ल्यान्डका तीन खेलाडी पेनाल्टीमा गोल गर्न असफल भएपछि इटाली ३–२ विजयी भएको थियो। तीन युवा खेलाडी बुकायो साका, मार्कस रासफोर्ड र जेडन सान्चो पेनाल्टीमा गोल गर्न चुकेका गरेका थिए। युवा खेलाडीलाई पेनाल्टी प्रहार गर्न दिएर इंग्ल्यान्ड पराजित भएलगत्तै अनुभवी खेलाडी रहिम स्टर्लिङ र ज्याक ग्रिलिसमाथि पेनाल्टी हान्न नचाहेको आरोप लाग्यो।

‘मैले एउटा (पेनाल्टी) हान्छु भनेको थिएँ! प्रशिक्षकले जारी प्रतियोगितामा थुप्रै सही निर्णय गरेका छन् र आज (फाइनलको) राती पनि गरे। मैले पेनाल्टी हान्छु भनेको थिएँ, त्यसैले कसैले पनि मलाई पेनाल्टी हान्न चाहेन भनेको म स्वीकार्न सक्दिनँ…,’ ग्रिलिसले ट्विटरमार्फत् भनेका छन्।

टाइब्रेकरमा गोल गर्न असफल तीनजना अश्वेत खेलाडी हुन्। उनीहरुमाथि इंग्ल्यान्डका समर्थकहरुले फाइनलपछि रंगभेदी टिप्पणी समेत गरिरहेका छन्। यो विषयलाई इंग्ल्यान्डको फुटबल संघलगायत प्रधानमन्त्री कार्यालयले पनि गम्भिरतापूर्वक लिइरहेका छन्।