नेपाली राष्ट्रिय टिमका पूर्व स्टार मिडफिल्डर जगजित श्रेष्ठ सहिद स्मारक ए डिभिजन लिग खेल्न अस्ट्रेलियाबाट फर्किएका छन्। नेपालमा नियमित लिग हुन छाडेपछि जगजित ६ वर्षअघि सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया पुगेका थिए।
३० वर्षीय जगजति ए डिभिजन लिगका लागि नेपाल फर्किएका हुन्। फागुन १९ गतेबाट सुरु हुने ए डिभिजन लिग जगजितले त्रिभुवन आर्मी क्लबबाट खेल्नेछ।
अघिल्लो सिजन पनि अस्ट्रेलियाबाट फर्किए उनले आर्मीबाटै लिग खेलेका थिए। नेपाल फर्किएसँगै जगजितले आर्मीसँगको सम्झौता नवीकरण गरेका छन्।
उनले हिमालयन शेर्पा, थ्री स्टार र मनाङ मर्स्याङ्दीबाट ए डिभिजन लिग खेलिसकेका छन्।
६ वर्षअघि अस्ट्रेलिया पुगेका जगजितले ए डिभिजन लिगका पछिल्ला तीन सिजन अस्ट्रेलियाबाट फर्किएर खेलेका छन्। जगजितले अस्ट्रेलियाको दोस्रो र तेस्रो डिभिजनको लिग खेलेका छन्।
पछिल्लो समय नेपाली फुटबलको मुख्य गतव्य अस्ट्रेलिया बनेको छ। अहिले अस्ट्रेलियामा राष्ट्रिय टिमका ३० बढी खेलाडी छन्।
यस्तै, दुई साताअघि मात्रै स्ट्राइकर रेजिन सुब्बा ए डिभिजन लिगका लागि अस्ट्रेलियाबाट फर्किएका थिए। उनी खुमलटार एफसीमा आबद्ध भएका छन्।