सन्दीपले विकेट लिँदा जमैका ५ विकेटले विजयी

नेपाली युव लेगस्पिनर सन्दीप लामिछानको टिम जमैका तलावासले क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा सन्दीपले उत्कृष्ट बलिङ गर्दै विकेट लिएपछि जमैकाले सेन्ट लुसिया जुक्साई ५ विकेटले हरायो ।

टस जितेर जमैका फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गर्दै सेन्ट लुसियाले दिएको १५९ रनको लक्ष्य जमैकाले १८.५ ओभरमा ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

जमैकालाई विजयी सुरुवात गराउने क्रममा आसिफ अलीले ४७ र ग्लेन फ्लिप्सले ४४ रनको इनिङ खेले । अलीले २७ बलमा ५ चौका र २ छक्का प्रहार गरे भने फ्लिप्सले २९ बल खेल्दै समान ३ चौक र छक्का प्रहार गरे ।

यस्तै, कप्तान रोमन पावेलले १७ बलमा २६, कार्लोस ब्रेथवेटले ९ बलमा १८ रन बनाउँदा आन्द्रे रसलले १६ रनको योगदान दिए । सेन्ट लुसियाका केस्रिक विलियम्सले २ विकेट लिए भने रखिम कर्नवाल, ओवेड म्याक्वेड, स्कट कुगेलेइनले समान १ विकेट लिए ।

पहिलो ब्याटिङ गरेको सेन्ट जुक्सले रोस्टन चेसका अर्धशतक मद्दतमा निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १५८ रन बनायो । चेसले ४२ बलमा ४ चोका र २ छक्काको मद्दतमा ५२ रन बनाए । यस्तै, नाजिबुल्लाह जद्रानले २५, एन्ड्यू फ्लेचरले २२ रन बनाए ।

किफायति बलिङ गरेका सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । सन्दीपको त्यो विकेट निकै महत्वपूर्ण थियो । उनले ५२ रनको साझेदारी गर्दै क्रिजमा जमेको चेस र जद्रानको जोडी तोडेका थिए । जद्रानलाई सन्दीपले आफ्नो चौथो ओभरको दोस्रो बलमा रोमन पावलबाट क्याच आउट गराएका थिए ।

सन्दीपले ४ ओभरमा १२ डटबल गरेका थिए । उनले १ चौका र १ छक्का खाएका थिए भने १ वाइड बल फ्याँकेका थिए । सन्दीपका अलावा जमैका तलावासमा मुजिब उर रहेमान, वीरासामी प्रेमउलले समान २–२ विकेट लिएका थिए ।