नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने र अफगान स्पिनर मुजिब उर रहमाले उत्कृष्ट बलिङ गरेपछि जमैका तलावासले गुयाना अमेजोन वारियर्ससँग हारको बदला लिएको छ । अघिल्लो खेलमा १४ रनले पराजित भएको जमैकाले बुधबार बिहान भएको खेलमा गुयनामाथि ५ विकेटको जित निकाल्यो ।
यो जमैकाको दोस्रो जित हो । यसअघि पहिलो खेलमा जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछिका दुई खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेट र गुयनासँग १४ रनले पराजित भएको थियो । ४ खेलमा ४ अंक जोडेको जमैका चौथो स्थानमै छ भने ४ अंक नै जोडेको गुयाना रनरेटमा माथि रहँदै तेस्रो स्थानमा छ । यद्यपि गुयानाले १ खेल बढी खेलेको छ । तीन खेलमा ६ अंक जोडेको ट्रिनबागो नाइटराइडर्स शीर्ष स्थानमा छ ।
बलरहरुले लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि गुयानाले दिएको १०९ रनको सामान्य लक्ष्य जमैका १८ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । जमैकाका लागि एनक्रुम बोनरले सर्वाधिक ३० रन बनाए भने ग्लेन फिलप्सले २६ र जर्मेन ब्ल्याकउड र आन्द्रे रसेलले समान २३ रन बनाए । गुयनाका नविल उक हकले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको गुयानाले २० ओभर खेल्दै ७ विकेट गुमाएर १०८ रन मात्र बनाएको थियो । उसका रोस टेलरले सर्वाधिक २३ रन र नविल उल हक २० रनमा बनाए । अन्य ब्याट्सम्यान भने क्रिजमा टिक्न सकेनन् ।

गुयानालाई सस्तैमा समेट्ने क्रममा सन्दीप, मुजिव र फिडेल इडवार्डले उत्कृष्ट बलिङ गरे । मुजिवले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट लिए भने इडवाडले पनि तीन विकेट नै लिए ।
किफायति बलिङ गरेका सन्दीपले १२ रन खर्चेर १ विकेट लिए । गुयानाविरुद्धका दुवै खेलमा सन्दीपले कुनै पनि बाउन्ड्री दिएनन्, बुधबारको खेलमा सन्दीपले १६ डटबल गरेका थिए । गुयानाविरुद्धको पहिलो खेलमा ८ रन खर्चेर २ विकेट लिएका थिए । योसँगै सन्दीपले ४ खेलमा ५ विकेट लिएका छन् ।
सन्दीपले पहिलो खेलमा सेन्ट लुसिया जुक्सविरुद्ध सन्दीपले ४ ओभरमा २३ रन खर्चेर महत्वपूर्ण एक विकेट लिए भने दोस्रो खेलमा ट्रिनबागोविरुद्ध ३० रन खर्चेर १ विकेट लिएका छन् । यस्तै सन्दीपले गुयानाविरुद्ध ४ ओभरमा ८ रन मात्र खर्चेर २ विकेट लिएका थिए ।
प्याट्रिओट्सको पहिलो जित
लगातार तीन खेल हार्दै खराब सुरुवात गरेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले यस सिजन पहिलो जित हात पारेको छ । एभिन लेविसले ८९ रन बनाएपछि प्याट्रिओट्सले साविक विजेता बार्बेडोस् ट्राइडेन्ट्सलाई ६ विकेटले पराजित गर्दै २ अंक जोडेको हो ।
लेविसको उत्कृष्ट ब्याटिङमा प्याट्रिओट्सले १५२ रनको लक्ष्य १९।३ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । लेविसले ६० बल खेल्दै २ चौका र ९ छक्का प्रहार गरे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बेडोसले २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको थियो ।