नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावास र सेन्ट किड्स एण्ड नेविस प्याट्रिओट्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा एकेडेमी मैदानमा बिहीबार राति भएको खेलको पहिलो इनिङको ६ अभरपनि नसकिँदै भीषण वर्षा भएपछि खेल रद्द गरिएको हो ।
जमैकाले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा आएको प्याट्रिओट्सले ५.४ ओभरमा विनाक्षति ४६ बनाएको अवस्थामा खेल वर्षाले रद्द भएको थियो । खेल रद्द भएसँगै दुवै टिमले १–१ अंक बाँडेका छन् ।
१ अंक जोडेसँगै सन्दीपको टिम जमैकालाई सेमिफाइनल पुग्न २ अंक आवश्यक परेको छ । ८ खेलमा ३ र १ बरारबीसहित ७ अंक जोडेको जमैका तालिकामा चौथो स्थानमा छन् । अब २ खेल बाँकी रहेको अवस्थामा १ खेल जितेमा जमैका चौथो टिमका रुपमा सेमिफाइनल पुग्ने छ ।
दुवै खेल पराजित भएपनि जमैका सेमिफाइनल पुग्न सक्ने छ । त्यसका लागि पाचौं स्थानमा रहेको बार्बादोस ट्राइडेन्सले २ मध्ये एक खेल हार्नु पर्ने छ । यसअघि ट्रिनबागो नाइट राइडर्स, गुयाना वारियर्स, सेन्ट लुसिया जुक्स सेमिफाइनल पुगिसेकका छन् ।
अब जमैकाले सेप्टेम्बर ६मा बार्बादोससँग खेल्ने छ भने ७ सेप्टेम्बरमा सेन्ट लुसिया जुक्ससँग खेल्ने छ । बार्बादोसले भने गुयाना र जमैकासँग खेल्ने छ ।
जमैकासँगको खेल वर्षाले रद्द भएपछि प्याट्रिओट्स भने प्रतियोगिताबाट बाहिरएको छ । उसले ९ खेलमा १ जित र १ बराबरीसहित ३ अंक मात्र जोडेको छ । उसले अन्तिम खेल ट्रिनबागोसँग खेल्ने छ ।

७ खेलमा सन्दीपको १० विकेट
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रियिमर लिग (सिपिएल)मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सन्दीपले ७ खेलमा १० विकेट लिएका छन् । सन्दीप सिपिएलको यो सिजन सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा छन् ।
सन्दीपले ७ खेलमा २८ ओभरमा बलिङ गर्दै १३६ रन खर्चिएका छन् । उनको इकोनोमी ४.८५ छ । ४ओभरमा ८ रन खर्चेर २ विकेट लिनु सन्दीपको उत्कृष्ट स्पेल हो ।
सिपिएलमा सन्दीपले पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध १, दोश्रो खेलमा ट्रिनबागोविरुद्ध १, तेश्रो खेलमा गुयनाविरुद्ध २ विकेट लिएका थिए भने चौथो खेलमा गुयानासँगै १, पाँचौ खेलमा बार्बादोस ट्राइडेन्सविरुद्ध २ र छैठौं खेलमा सेन्ट किट्सविरुद्ध २ विकेट लिएका थिए ।
सिपिएलमा सन्दीपको तेस्रो सहभागीता हो । यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बादोस ट्राइडेन्सबाट खेलेका थिए । सन्दीपले दुई संस्करणमा गरी उनले कुल १५ विकेट लिएका छन् । सन्दीपले प्याट्रिओट्सबाट ५ खेलमा ७ विकेट लिएको थिए भने बार्बादोसबाट ६ खेलमा ८ विकेट लिएका थिए ।