स्ट्राइकर जिमी भार्डीले उत्कृृष्ट प्रदर्शन गर्दै २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगको पहिलो खेल लेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लेस्टर सिटीले नवप्रवेशी वेस्ट ब्रुमलाई उसकै मैदानमा ३–०ले हरायो ।
लेस्टरलाई सहज जित दिलाउने क्रममा भार्डीले २ गोल गरे भने टिमोथी कास्टाग्नेले एक गोल गरे । खेलमा तीनै गोल दास्रो हाफमा सम्भव भएको थियो ।
खेलको ५६औं मिनेटमा टिमोथीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । लेस्टरका लागि उनको यो डेब्यू खेल हो । बेल्जियन डिफेन्डर टिमोथी इटालियन क्लब एटलान्टाबाट लेस्टर आएका हुन् ।
७४औं मिनेटमा भार्डीले पेनाल्टीमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । वेस्ट ब्रुमका केलीले भार्डीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा लेस्टरले गोल गरेका थिए । ८४औं मिनेटमा भार्डीले नै गोल गर्दै लेस्टरलाई ३–०को अवस्थामा ल्याए । वेस्ट ब्रुममा खेलाडीले जस्टिनलाई डिबक्समा लगाएपछि प्राप्त पेनाल्डीमा भार्डीले गोल गरेका थिए ।