रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावादले युएईमा जारी आईपिएलको प्लेअफ सम्भावनालाई जिवितै राखेको छ । अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्न हैदरावाद प्लेफअ पुग्ने छ ।
युएईमा जारी आईपीएलको १३ औं संस्करणमा हैदरावादको यो छैटौं जित र बैंग्लोरको छैटौं हार हो । यता अन्तिम खेलमा दिल्लीलाई पराजित गर्न सके बैंग्लोर दोस्रो हुँदै प्लेअफमा पुग्ने छ भने पराजित भएपनि प्लेअफ पुग्न सक्ने छ । त्यका लागि अन्य खेलको नतिजामा भर पर्नुपर्ने छ ।
शनिबार राति बैंग्लोरले दिएको १२१ रनको लक्ष्य हैदरावादले ३५ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो । हैदरावादका लागि ऋद्धिमान साहले ३९ र मनिष पाण्डेले २६ रन बनाए । छक्का प्रहार गर्दै हैदरावादलाई जित दिलाउने जेसन होल्डर १० बलमा २६ रन बनाउँदै नटआउट रहे । बलिङतर्फ युजवेन्द्र चहलले १९ रन दिएर २ विकेट लिए ।
यसअघि शारजहा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२० रन बनाएको थियो । ओपनर जोश फिलिपले सर्वाधिक ३२ रन बनाए । एबी डिभिलियर्सले २४ र वाशिङ्टन सुन्दरले २१ रन बनाए । कप्तान विराट कोहलीले ७ रन मात्रै बनाउन सके ।
हैदरावादका लागि सन्दिप शर्मा र जेसन होल्डरले २–२ विकेट लिए । चार ओभर बलिङ गर्दा २० रन खर्चिएर २ विकेट लिएका शर्मा म्यान अफ द म्याच भए ।