स्पेनिस क्लब सेभियालाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कप उपाधि जितेको छ । बिहीबार राति पुस्कार एरिना हंगेरीमा भएको खेलमा सेभियालाई २–१ले परजित गर्दै बायर्नले सिजनको पहिलो उपाधिका रुपमा सुपर कप जितेको हो ।
सुपर कप च्याम्पियन्स लिग विजेता र युरापा लिग विजेताबीच खेलिने प्रतियोगिता हो । बायर्न च्याम्पियन्स लिग विजेता हो भने सेभिया युरोपा लिग ।
सेभिया र बायर्नबीचको खेलमा २० हजार दर्शक उपस्थित थिए । युईएफएका प्रतियोगितामा महामारीपछि पहिलो पटक दर्शकलाई स्टेडियम प्रवेशका लागि अनुमति दिइएको थियो । कोरोना महमारीपछि च्याम्पियन्स लिग र युरोपा लिगका सबैखेल बन्द रंगशालामा भएको थियो ।
बायर्नलाई च्याम्पियन बनाउन लियोन गोर्टेज्का र जाभियर मार्टिनेजले गोल गरे भने सेभियाका लुकास ओकम्पोसले गोल गरेका थिए । खेलका पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
खेलमा अग्रता सेभियाले लियो । १३औं मिनेटमा प्राप्त पेनाल्टीमा ओकम्पोसले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । बायर्नका डिफेन्डर डेविड अल्बाले इभान राकाटिचलाई डिबक्समा लडाएपछि सेभियाले पेनाल्टी पाएको थियो ।
३४ औं मिनेटमा बायर्नले खेललाई बराबरीमा ल्यायो । रोबर्ट लेवान्डोस्कीको पासमा गोर्टेज्काले भली गोल गरेका थिए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो ।
अतिरिक्त समयको १४आं मिनेटमा वैकल्पिक खेलाडी जाभियर मार्टिनेजले गोल गर्दै बायर्नलाई २–१को अग्रता दिलाए । त्यसपछ िखेलमा कुनै गोल नहुँदा बायर्न च्याम्पियन बन्यो ।