°
, May 29, 2023 in

झापा गोल्डकप फाइनल : झापा ११ च्याम्पियन बन्ला कि फेरि उपविजेतामै सीमित रहला ?

SHARE:

पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनल आज हुँदै छ । उपाधिका लागि तीनपटक झापा गोल्डकपको उपाधि उचालेको त्रिभुवन आर्मी फुटबल क्लब र यसअघिका चारवटै संस्करणमा उपविजेतामा सीमित भएको घरेलु टोली झापा–११ प्रतिस्पर्धा गर्दै छन् ।

आर्मीले पहिलो, तेस्रो र चौथो झापा गोल्डकपको उपाधि जितेको छ भने झापा यसअघिका चारवटै संस्करणमा उपविजेतामा सीमित बन्दै आएको छ । दोस्रो झापा गोल्डकपमा भने घरेलु टोली झापा–११ मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो ।

यसपटक झापा इतिहास उल्ट्याउँदै नयाँ इतिहास रच्ने दाउमा उत्रँदै छ । आर्मी भने पाँचौँ संस्करणको झापा गोल्डकपको चौथोपटक ट्रफी पोल्टामा पार्ने दाउमा छ ।

विभागीय टोली आर्मीका खेलाडी ‘सेट’ छन् । झापा–११ ‘कलेक्टिभ’ टिम हो । यद्यपि, झापासँग सशक्त खेलाडी छन् । स्टार स्ट्राइकर विमल घर्तीमगरले झापाबाटै खेलिरहेका छन् । लिग विजेता टोली मच्छिन्द्रका अधिकांश खेलाडी झापासँगै जोडिएका छन् । लिगमा आर्मी दोस्रो भएको थियो।

लिग विजेता टोलीका सदस्य झापामा रहेका कारण पनि दबाबमा छ, आर्मी । दुवै टोलीमा राष्ट्रिय टोलीका खेलाडी छन् । त्यसकारण पनि फाइनल खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने धेरेको अनुमान छ ।

आर्मीका कप्तान नवयुग श्रेष्ठ चोटका कारण पूरा खेल खेल्न सकेका छैनन् । चोटपछि उनको यो पहिलो खेल हो । आर्मीका स्टार स्ट्राइकर श्रेष्ठले यसअघिका दुई खेलमा अन्तिम २० मिनेट मात्र खेले । उनी फाइनलमा पनि कति खेल्ने हुन् भन्ने टुंगो छैन । यसको फाइदा आफ्नो टोलीलाई हुन सक्ने झापाको अनुमान छ ।

आर्मीले विगतकै प्रतिद्वन्द्वी झापा–११ लाई झापा गोल्डकपको फाइनलमा पाएको छ । झापाको ‘मिक्स टिम’को फाइदा लिने दाउमा छ, आर्मी । झापा–११ सँगै होइन मच्छिन्द्र क्लबसँग खेलेजस्तै हुने आर्मीका प्रशिक्षक नवीक न्यौपानेले बताएका छन्। आर्मीका प्रशिक्षक न्यौपानेले विगतको तुलनामा आफ्ना खेलाडीको खेल स्तरीय भएको दाबी गरे ।

२१ फागुनबाट बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौँ संस्करणको झापा गोल्डकप आज सकिँदै छ । प्रतियोगितामा भारतका दुई टिम, घरेलु टोली झापा–११ र सात वटा ए डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो । प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । खेलको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।

SHARE: