स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले क्लब आर्थिक संकटमा रहेको बताएका छन् । आर्थिक संकटकै कारण मेसीसँगको सम्झौता नवीकरण गनै नसकिएको पनि उनले बताएका छन्।
सम्झौता नवीकरण हुन नसकेपछि लियोनल मेसी बार्सिलोना छाड्दै फ्रेन्च क्लब पिएसजी पुगेका छन्। २१ वर्षपछि मेसीले बार्सिलोना छाडेका हुन्।
‘बार्सिलोनाको आर्थिक स्थिति अहिले निकै नाजुक र जटिल छ । अहिले क्लको ऋण १ अर्ब ३५ करोड युरो पुगेको छ,’ लोपार्टाले एक पत्रकार सम्मेलनमा भने, ‘खेलाडीको तलबमा मात्रै ६१ करोड ७० लाख युरो खर्च गर्नैपर्ने अवस्था छ। यो अरु प्रतिद्वन्द्वी टिमको भन्दा ३० प्रतिशतसम्म बढी हो ।’
अहिले हामीले स्थितिमा कडिकडाउ गर्न सक्यौं भने हाम्रो आर्थिक स्थिति भविष्यमा मजबुत हुने विश्वास अध्यक्ष लापोर्टाले व्यक्त गरे। उनले मेसी र क्लब दुवै पक्षले ठूलो विश्वासले कुराकानी गर्दा उनलाई क्लबमा राख्न नसकिएको बताए।
अध्यक्ष लापोर्टाले चाहना हुँदा हुँदै पनि आफ्ना लिजेन्डलाई क्लबमा राख्न नसकिएको बताए । ‘मेरो चाहना मेसी बार्सिलोनाकै लागि खेलुन भन्ने थियो । तर अहिलेको अवस्थामा उनीबारेको हाम्रो निर्णय सही छ,’ लापोर्टाले भने, ‘म मेसीलाई शुभकामनामात्र व्यक्त गर्न सक्छु । मेरो इच्छा उनी खुसी हुन् भन्ने नै हो । मेसी यसका लागि हकदार छन् ।’
लापोर्टाले बार्सिलोना नयाँ युगमा प्रवेश गरिरहेको बताए । उनले अब आफ्नो लक्ष्य लामो समयका लागि योजना बनाउने भएको उल्लेल गरे । उनले बार्सिलोनाको एकेडेमीबाट मेसीजस्तै अन्य खेलाडी जन्मिने विश्वास राखे । उनले त्यसका लािग प्रयास गर्ने पनि बताए ।