इटालीका जोर्जिन्होका लागि यो वर्ष करियरकै उत्कृष्ट वर्ष रह्यो। युरोपका दुई सर्वाधिक ठूला प्रतियोगिता जित्दै उनी युरोपमा फुटबल खेल्ने सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए।
२९ वर्षिय जोर्जिन्होले चेल्सीसँग च्याम्पियन्स लिग जितेका थिए भने राष्ट्रिय टिमबाट युरोकप च्याम्पियन बनेका थिए। व्यावसायिक फुटबल र राष्ट्रिय फुटबल दुवैतर्फका दुई ठूला प्रतियोगिता जितेका जोर्जिन्होले युइएफए प्लेयर आफ द इयरको अवार्ड हात पार्न सफल भए।

चेल्सीका इटालियन मिडफिल्डर जोर्जिन्हो आफ्नै क्लबका फ्रेन्च मिडफिल्डर एन्गोलो कान्टे र म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुनलाई पछि पार्दै युरोपको उत्कृष्ट खेलाडी बनेका हुन्।
पोर्चुगलको पोर्टोमा भएको च्याम्पियन्स लिग फाइनलमा जोर्जिन्होसँगै चेल्सीको मिडफिल्डमा खटेका कान्टेले म्यान अफ म्याच प्रदर्शन गर्दा डे ब्रुनको म्यानचेस्टर सिटी पराजित भएपछि लण्डन क्लब युरोपको च्याम्पियन बनेको थियो।
त्यसको दुई महिनापछि लण्डनमा भएको फाइनलमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित गर्दै इटाली च्याम्पियन बनेको थियो। युरोकपमा जोर्जिन्होले इटालीका हरेक खेल खेलेका थिए।
युइएफए प्लेयर अफ द इयर जितेसँगै जोर्जिन्होले बलोन डि‵ओर जित्ने आशा पनि बढेको छ। हालको अवस्थामा जोर्जिन्हो बलोन डि‵ओर जित्ने सम्भावना भएका शीर्ष पाँच खेलाडीमध्येमा पर्दछन्। प्रतिष्ठित बलोन डि‵ओर जित्ने होडमा मेसी, लेवान्डोस्की र कान्टे अगाडी छन् भने जोर्जिन्हो र एम्बाप्पेले पनि बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन्।
बार्साकी एलेक्सिया सर्वोत्कृष्ट महिला खेलाडी
यसैगरी, बार्सिलोनाकी एलेक्सिया प्युटेलासले सर्वाेत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्। गत सिजन उनले बार्सालाई स्पेनिस लिग, स्पेनिस कप र महिला च्याम्पियन्स लिग जिताउँदै ट्रेबल पूरा गर्न निर्णायक प्रदर्शन गरेकी थिइन्।

सर्वोत्कृष्ट महिला खेलाडीको मनोनयनमा बार्साकै तीन खेलाडी रहेका थिए। एलेक्सियाले क्लबका दुई टिममेट जेन्नी हर्मोसो र लिएके मर्टेन्सलाई पछि पार्दै उत्कृष्ट खेलाडीको अवार्ड हात पारेकी हुन्।