इंग्लिस ब्याट्सम्यान जोस बटलरले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिएपछि आईपिएलमा राजनस्थान रोयल्स विजयी भएको छ। सोमबार राति भएको खेलमा बटलरले शतक प्रहार गरेपछि राजस्थानले कोलकातामाथि ७ रनको रोमाञ्चक जित निकाल्यो।
२१८ रनको लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा २१० रनमा अलआउट भयो। कोलकाताका कप्तान श्रेयस अय्यरले ५१ बलमा सर्वाधिक ८५ रन बनाए भने आरोन फिन्चले २८ बलमा ५८ रन जोडे।
अय्यरले ७ चौका र ४ छक्का प्रहार गरे भने फिन्चले ९ चौका र २ छक्का प्रहार गरे। यी दुईले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए। राजस्थानका युजभेन्द्र चहलले ४ ओभरमा ४० रन खर्चेर ह्याटिकसहित ५ विकेट लिए भने डेब्यू खेल खेलेका तीव्र गतिका बलर आवेद म्याकोयले २ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो। राजस्थानका जस बटलरले शतकीय इनिङ खेले । प्रतियोगितामा दोस्रो शतक प्रहार गर्ने क्रममा उनले ६१ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १०३ रन बनाए।
कोलकाताका सुनिल नारायणले सर्वाधिक २ विकेट लिए भने प्याट कमिन्स, शिवम माभी र आन्द्रे रसेलले १–१ विकेट लिए।