ट्रेनिङमा सहभागी हुन जुडो टोली स्वीट्जरल्यान्ड जाने

आइजेएफ युथ ट्रेनिङ शिविरमा सहभागी हुन नेपाली जुडो टोली स्वीट्जरल्यान्ड जाने भएको छ। दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली शनिबार स्वीट्जरल्यान्डको लेसिन प्रस्थान गर्नेछ।

स्वीट्जरल्यान्ड जाने टिममा खेलाडीद्वय आयुशसिंह साउद र सम्झना थापा तथा प्रशिक्षक राजीव प्रधान छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव एकेन्द्र कुँवरले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्रचार्यले तालिममा नेपालले लगातार तेश्रोपटक सहभागिता जनाउन लागेको बताउदै ख्याती प्राप्त जुडो प्रशिक्षकले सहभागीलाई तालिम दिने जानकारी गराए ।

अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुने छ । टोलीको हवाइ टिकटरखानरबसोबास ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पले व्यवस्था गर्ने तथा स्थानीय खर्च आईजेएफले व्यहोर्ने छ ।

दुवै खेलाडीलाई यु–१८ उमेरसमूह अन्तर्गत राजविराजमा भएको लोकेन्द्रबहादुर श्रेष्ठ स्मृति राष्ट्रव्यापी जुडो प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट गरिएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

Facebook Comments Box