जुनियर प्रिमियम टेनिस सुरु

टिम टेनिस नेपालको आयोजनामा प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिता आइतबारदेखि धापाखेलमा सुरु भएको छ ।

प्रतियोगितामा १ सय २९ खेलाडीले विभिन्न उमेरसमूहको १५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । बिहीबारसम्म चल्ने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगिताको पहिलो दिन यु–८ सिंगल्सको ब्वाइजमा निश्चल ज्ञवाली र गल्र्समा निश्वी गोर्खालीले स्वर्ण जिते । फाइनलमा निश्चलले शुभन केसीलाई १०–५ र १०–२ तथा निश्वीले आयुश्री घलेलाई ८–१०, १०–३ र १०–८ को सेटमा पराजित गरे ।

प्रतियोगिताको उद्घाटनअघि खेलकुद मन्त्री तामाङले प्रतियोगिता आयोजक टिम टेनिस नेपालले धापाखेलमा निर्माण गरेको कोर्टको पनि उद्घाटन गरेका थिए । प्रतियोगिता पनि त्यही कोर्टमा भइरहेको छ ।

जुनियर टेनिस खेलाडीका अभिभावकहरु मिलेर करिब २ करोड ५० लाख लागतमा कोर्ट निर्माण गरिएको टिम टेनिस नेपालका बोर्ड अफ डाइरेक्टर विष्णुबहादुर थापाले जानकारी दिए । नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण उपलब्ध गराउने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गर्ने उद्देश्यका साथ कोर्ट सञ्चालनमा ल्याइएको थापाले बताए ।

करिब साढे छ रोपनी क्षेत्रफल हातामा ५ कोर्ट क्ले कोर्ट निर्माण गरिएको छ । त्यसमा ३ वटा डबल्स कोर्ट तथा १–१ रेड र ओरेन्ज बल कोर्ट रहेका छन् । यु–८ देखि २० वर्षसम्मका खेलाडीका साथै भेट्रान खेलाडीका लागि पनि प्रशिक्षणको व्यवस्था मिलाइएको बताइएको छ । हाल ३२ खेलाडी प्रशिक्षणमा छन् ।

एटीपी खेलाडीलाई प्रशिक्षण दिइसकेका अमेरिकाका सेजर मोरल्स, स्पेनका डाउ मार्टिन सोल र नेपालका अनिल क्षेत्रीलाई प्रशिक्षकका रुपमा राखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.