युभेन्ट्सले इटालियन सिरी एमा पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै युभेन्ट्सले टोरिनोलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम युभेन्टसको जितमा वेस्टन म्याकेनी र लियोनार्दो बोनुचीले गोल गरे। यता, टोरिनोका निकोलस एनकोउलोले गोल गरे। खेलको नवौं मिनेटमा निकोलसले गोल गर्दै टोरिनोलाई १–० गोलको अग्रता दिलाए। पहिलो हाफमा १–० गोलले पछि परेको युभेन्टसले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।
खेलको ७८ औं मिनेटमा म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई १–१ गोलको बराबरी दिलाए। ८९ औं मिनेटमा बोनुचीले गोल गरेपछि युभेन्ट्सले टोरिनोविरुद्ध २–१ गोलको पुनरागमन जित निकालेको हो। त्यस्तै, इटालियन सिरी ए फुटबलमै भएको अर्को खेलमा इन्टर मिलानले बोलोग्नालाई ३–१ गोलअन्तरले पराजित गर्दा लाजियोले स्पेजियालाई २–१ गोलले स्तब्ध पारेको छ।
जितसँगै लिगको तेस्रो स्थानमा उक्लिएको युभेन्टसले १० खेलबाट २० अंक बनाएको छ। पराजित टोरिनोको भने १० खेलबाट ६ अंक छ। १० खेलबाट २१ अंक बनाएको इन्टर मिलान लिगको दोस्रो स्थानमा रहँदा शीर्ष स्थानमा भने एसी मिलान छ। एक कम खेल खेलेको एसी मिलानको २३ अंक छ।