इटालियन क्लब युभेन्ट्स कारबाहीमा परेको छ। विगतमा गतल तरिकाले खेलाडी ट्रान्सफर गरेको भन्दै इटालीको फुटबल महासंघ (एफआईजीसी)ले युभेन्ट्समाथि कारबाही गरेको हो।
यो कारबाहीसँगै सिरि ए युभेन्ट्सको १५ अंक घटेको छ । लिगमा कमजोर सुरुआत गरेको युभेन्ट्सले आफ्नो लय समात्दै तेस्रो स्थानमा छ। ३७ अंकसहित तेस्रो स्थानमा रहेको यभुेन्ट्स यो कारबाही पछि एकै पटक १०औं स्थानमा झर्नेछ।
सिरी ए को वित्तीय अभियोजकले युभेन्टसलाई धेरै आर्थिक नियम उल्लंघनका लागि दोषी देखाएको छ। आर्थिक नियम उल्लंघ गर्दै युभेन्ट्सले खेलाडीको तलबबाट ९० मिलियन युरो बचत गरेको बताइएको छ।
क्लबका अध्यक्ष एन्ड्रिया एग्नेली र उपाध्यक्ष पावेल नेदवेदलगायतका निर्देशक बोर्डले नोभेम्बरमा राजीनामा दिएपछि एफआईजीसीले यो प्रतिबन्ध लगाइएको हो।
इटालीको फुटबल अदालतले क्लबका पूर्व तथा वर्तमान पदाधिकारीहरुमाथि पनि प्रतिबन्ध लगाएको छ। अदालतले पूर्वअध्यक्ष तथा खेल निर्देशक एग्नेलीलाई २४ महिनाको प्रतिबन्ध लगाएको छ । अब उनले यो अवधिमा इटालियन फुटबलमा कुनैपनि काम गर्न पाउने छैनन् ।
यस्तै, युभेन्टसका पूर्व खेल निर्देशक फाबियो पाराटिसीलाई पनि प्रतिबन्ध लगाएको छ। अदालतले उनलाई ३० महिनाको प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उनी अहिले इंग्लिस क्लब टोटनहमका प्रबन्ध निर्देशक छन्। क्लबका प्रमुख कार्यकारी अधिकृत माउरिजियो अरिभाबेनेलाई पनि दुई वर्षको प्रतिबन्ध लगाइएको छ भने पूर्व उपाध्यक्ष नेदभेडलाई आठ महिनाको प्रतिबन्ध लगाइएको छ।
यो प्रतिबन्ध पछि पनि युभेन्टसले आफूले कुनै पनि गलत काम नगरेको बताउँदै आफ्नो एकाउन्टिङ मापदण्ड अनुसार नै रहेको जनाएको छ।