नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व सदस्य कनिष्क चौगाईं अमेरिका क्रिकेटको क्षेत्रीय बन्द प्रशिक्षणका लागि वेष्ट जोनको टोलीमा समावेश भएका छन् । क्रिकेट अमेरिकाले आफ्नो उमेर र सिनियर टोलीको सबै क्जोनबाट प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक गरेको हो ।
जसमा कनिष्क अमेरिका कप्तान समेत सौरभ नेत्रवाल्कर, तिमिल पटेल, निसर्ग पटेल, दक्षिण अफ्रिका पूर्व क्रिकेटर रस्टि थेरन लगायतका चर्चित खेलाडीसँगै वेष्ट जोनमा परेका हुन् । अमेरिकाका विभिन्न जोनमा प्रशिक्षण गरेर खेलाडी छनोट गर्ने गरिन्छ । अमेरिकाले त्यसका लागि विभिन्न क्षेत्रीय टोली बनाएर प्रशिक्षण सुरु गर्न लागेको हो ।
३५ वर्षीय कनिष्कले नेपालका लागि दुई फस्ट क्लास म्याच खेलेका छन् । सन् २००८ सम्म नेपालको प्रतिनिधित्व गरेका उनले तीन पटक यू–१९ विश्वकपसमेत खेलेका थिए । उमेर समूहमा राम्रो प्रदर्शन गर्दै ठूलो सम्भावना देखाए पनि उनी विदेशीएका थिए ।
कनिष्कै कप्तानीमा रहेको नेपाली टिमले सन् २००६ को यू–१९ विश्वकपमा प्लेट च्याम्पियनसिपमा न्युजिल्यान्डलाई हराउँदै उपाधि जितेको थियो । कनिष्टकै कप्तानीमा ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषाकर र पारस खड्का नेपाली टिमबाट खेलेका थिए ।