फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले उत्कृष्ट प्रदर्शन गरेपछि स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ । शनिबार रााति भएको खेलमा बेन्जिमाले २ गोल र एक असिस्ट गरेपछि रियलले सेल्टाभिगोलाई उसकै मैदानमा ३–१ले हरायो।
यो जितसँगै रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । उसले बार्सिलोनामाथि १ अंकको अग्रता लिएको छ भने शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दुरी ३ अंममा झारेको छ । रियलको २८ खेलमा ६० अंक छ भने शीर्ष स्थानको एट्लेटिकोको ६२ र तेस्रो स्थानको बार्सिलोनाको ५९ अंक छ । एट्लेटिको र बार्सिलोनाले १ खेल कम खेलेका छन्।
रियलको जितमा करिम बन्जिामाले दुई र मार्को असेन्सियोले एक गोल गरे भने सेल्टा भिगोका सान्टी मिनाले गोल गरेका थिए।
२०औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । उलने टोनी क्रुसको पासमा गोल गरेका थिए । त्यसपछि ३०औं क्रुसकै पासमा गोल गर्र्दै बेन्जिमाले रियलको अग्रता दोब्बर बनाए।
४०औं मिनेटमा सान्टी मिनाले गोल गरेपछि सेल्टा भिगोका खेलमा फर्किए। गोल गरेपछि सेल्टाभिगोले रियलमाथि दबाब कायम गरेको थियो। इन्जुरी समयको अन्तिम मिनेटमा काउन्टरमा बेन्जिमाले दिएको पासमा असेन्सियोले गोल गरेपछि रियलले ३–१को जित निकाल्यो।
शनिबार राति नै भएका अन्य खेलमा इबार र एथ्लेटिक बिल्बाओ, सेभिया र रियल भालाडोलिडले १–१ गोलको बराबरी खेलेका छन् भने हुएस्का र ओसासुनाले गोलरहित बराबरी खेले।