विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं नाइट्सले नेपाल टि–२० लिगमा दोस्रो जित निकालेको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेल काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले हरायो।
यसअघि काठमाडौंले पोखरा एभेन्जर्समाथि २६ रनको जित निकाल्दा फार वेस्ट युनाइटेडसँग ४ विकेटले पराजित भएको थियो । यता, जनकपुरको भने यो पहिलो हार हो। यसअघि उसले पोखरा र विराटनगर सुपर किंग्समाथि समान ५ विकेटको जित निकालेको थियो।
काठमाडौंले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याएको जनकपुर अन्तिम बलमा १५५ रनमा अलआउट भयो । उसका लागि कप्तान समिउल्लाह सिनवारीले सर्वाधिक २९ रन बनाउँदा सन्दीप जोराले २६, पवन सर्राफले २४, सराफुद्दिन अश्रफले १९ र अदिल आलमले १६ रन बनाए। काडमाडौंका अज्मतुल्लाह ओमरजाइले ३ तथा बासिर अहमदले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले विस्फोटक ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २०८ रन बनायो । उसका लागि तीन विदेशी खेलाडीले विस्फोटक ब्याटिङ गरे। एलेक्स ब्लाकले ४३ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ८३ रन बनाए।
यस्तै, विरन्दीप सिंहले ३४ बलमा ७ चौका र १ छक्का मद्दतमा ४९ रन बनाउँदा ओमरजाइले १५ बमाल १ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ४३ रन बनाए। जनकपुरका पवन सर्राफले २ विकेट लिए।
प्रतियोगितामा ४ अंक जोडेको काठमाडौैं दोस्रो स्थानमा छ भने समान अंक भएपनि रनरेटमा पछि पर्दै जनकपुर तेस्रो स्थानमा छ। ३ खेलमा तीनै जित निलकोको लुम्बिनी अल स्टार शीर्ष स्थानमा छ।