ए डिभिजन क्लब थ्री स्टार मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार धनगढी रंगशालामा भएको खेलमा आयोजक सुदूरपश्चिम–११ लाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो।
अब उसले उपाधिका लागि शनिबार अर्को ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीसँग खेल्ने छ।
निर्धारित समयको खेल १–१को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। थ्री स्टारका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाले गोल गरेका थिए।
सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीले मात्र गोल गर्न सके । उसका विष्णु चौधरी र विमल ओलीको प्रहार थ्री स्टारका गोलकिपर मोहम्मद टाहाले रोकेको थिए ।
खेलको ४४औं मिनेटमा दिपेश गुरुङ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि थ्री स्टार १० खेलाडीमा समेटिएको थियो । तर, त्यसको फाइदा सुदूरपश्चिम ११ ले लिन सकेन।
८३औं मिनेटमा कप्तान विक्रम लामाले हेडिङमार्फत गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। तर, इन्जुरी समयमा माधव भण्डारीले गोल गर्दै आयोजकलाई खेलमा फर्काएका थिए ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।