°
, May 30, 2023 in

कसले जित्ला सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप थ्री स्टार या मनाङ ?

SHARE:

छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल आज हुँदैछ। धनगढी रंगशालामा हुने फाइनलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र थ्री स्टार भीड्दै छन्।

शुक्रबार प्रि म्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि जित्ने दाबी गरे। थ्री स्टारका कप्तान बिक्रम लामाले सन्तुलित टिम रहेको उल्लेख गर्दै उपाधिमा आफ्नो स्वभाविक दाबी रहने उल्लेख गरे।

उनले खेलाडीको रिकभरी समय कम भएकाले फिटनेसमा असर पारेको बताए । तर फाइनल खेलका लागि टिम मानसिक रुपमा तयार रहेको उनको भनाइ छ ।

‘एन्फाले खेल तालिकालाई ब्यवस्थित बनाएको भए मोफसलमा फुटबल कार्यक्रम गरिरहेका आयोजकले गरेको मेहनतले फुटबलमा राम्रो योगदान गर्ने थियो,’ उनले भने, ‘तेस्रो पटक खप्तड गोल्डकपको फाईनल खेल्दै गर्दा पहिलो पटक उपाधि जित्न चाहन्छौं । मोफसलको गोल्डकपले टिमलाई सेट हुन अवसर दिएको छ।’

यता, मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपको उपाधि रक्षा गर्न आफुहरु तयार रहेको बताए । टिमको अवस्थाबारे जानकारी दिँदै उनले भने, ‘विदेशी फरवार्ड कोफी तिमोती कुवडु भोलि खेल्नेछन् । विदेशी खेलाडीमा डियाग उत्कृष्ट छन् । उनको प्रर्दशनले टिमलाई धेरै सहज भएको छ।’

गुरुङले मनाङ जस्तो क्लबलाई नेतृत्व गर्न पाउँदा गर्व महशुश गरेको बताए।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजना भएको प्रतियोगिताको विजेताले उपाधि सहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको यस प्रतियोगिताको समापन प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले गर्ने कार्यक्रम रहेको आयोजक टिमका अध्यक्ष सुरेश हमालले बताएका छन् ।

SHARE: