शीर्ष स्थानको जावलाखेल खुमलटारसँग पराजित

सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लब पराजित भएको छ। शुक्राबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जावलाखेल एफसी खुमलटारसँग ४–२ले पराजित भयो।

खुमलटारको जितमा दुई विदेशी खेलाडी चम्किए । स्टेफेन बिनोङले ह्याट्रिक गोल गरे भने मेसुके ओलोमोउले एक गोल गरे। जावलाखेलका विनोद केसीले एक गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो।

२०औं मिनेटमा बिनोङले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए। ४२ औं मिनेटमा खुमलटारका रोहित सुब्बाले आत्मघाती गोल गरेपछि खेल १–१को बराबरीमा आयो। पहिलो हाफकै इन्जुरी समयमा बिनोङ गोल गर्दै खेलमा खुमलटारलाई पुनः अग्रता दिलाए।

५१औं मिनेटमा बिनोङले गोल गर्दै ह्याटिक पुरा गर्दै टिमलाई ३–१को अग्रता दिलाए। इन्जुरी समयको तेस्रो मिनेटमा विनोदले गोल गर्दै जावालाखेललाई खेलमा फकाउने प्रयास गरे, तर पाँचौं मिनेटमा ओलोमोउले गोल गरेपछि खुमलटारले खेल ४–२ले जित्यो।

यो जितसँगै खुमलटार १७ अंक ११औं स्थानमा उक्लिएको छ भने जावलाखेलको २४सहित शीर्ष स्थानमै छ।