महिला भलिबललाई मुक्तिनाथ बैंकको साथ

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुक्तिनाथ विकास बैंकले प्रायोजन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र प्रतिष्ठानकी संरक्षक गमली खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकका सिइयो पोखरेलले राष्ट्रिय खेल भलिबलसँग जोडिँदा संस्था गौरवान्वित भएको बताए । बैंकले च्याम्पियन हुने टोलीलाई २ लाख प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ । प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले नेपाली खेलकुदको विकासमा कर्पोरेट क्षेत्रको महŒवपूर्ण भूमिका रहने बताए ।

प्रतियोगितामा नेपालका चर्चित ६ टोलीको सहभागिता रहनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका लागि साबिक विजेता एपिएफ, उपविजेता न्यु डायमन्ड, नेपाल पुलिस, पश्चिमाञ्चल, नेपाली सेना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गर्नेछन् ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा प्रतियोगिता १४ देखि १७ वैशाखसम्म हुनेछ । प्रतियोगितामा दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन् । दरबारमार्गस्थित द रिगल इंकले उपाधि विजेता टिमका सदस्यलाई ४ लाख ५६ हजारबराबरको १६ जोर सुटपिस उपलब्ध गराउनेछ ।

यसैगरी, प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्स, क्विकर, सर्भर र प्रशिक्षकले जनही ७ हजार रुपैयाँ हात पार्नेछन् । पाँचौँ संस्करणमा प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ पाउनेछन्