यसैसिजन ए डिभिजन लिगमा बढुवा भएको चर्च बोइज क्लब लगातार दुई खेलमा मछिन्द्र क्लबसँग पराजित भएको छ। चर्च बोइज दुई छुट्टा छुट्टै प्रतियोगितामा २ दिनअन्तरमा पराजित भएको छ।
बुधबार भद्रपुर झापा गोल्डकपको क्वार्टरफाइनलमा मछिन्द्रसँग २–१ले पराजित भएको चर्च बोइज शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा केपी ओली कपमा पनि क्वार्टरफाइलनमै २–१ ले नै पराजित भयो।
शुक्रबार भएको दोस्रो खेलमा मछिन्द्रलाई जित दिलाउन कप्तान सुजल श्रेष्ठ र रंजित धिमालले गोल गरे। चर्च बोइजले एक गोल आत्मघाती उपहार पाएको थियो।
१६ औं मिनेटमा सुजलले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । ४०औं मिनेटमा रञ्जितले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए।
पहिलो हाफमा मछिन्द्रसँग २–०ले पछि परेको चर्च बोइजले दोस्रो हाफमा १ गोल फर्कायो । ६५औं मिनेटमा मछिन्द्रका छिरिङ गुरुङले आत्मघाती गोल गरेपछि चर्च बोइजले खेलमा फर्कने प्रयास गरेको थियो। तर त्यसपछि गोल नहुँदा चर्च बोइज पराजित भयो।
अब मछिन्द्रले सेमिफाइलनमा केपी ओली क्लब र जावलाखेल युथ क्लबबीचको विजेतासँग खेल्ने छ।